Logo

न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छः ओली



काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको टिप्पणी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाबाट न्यायिक क्षेत्रको क्यान्सरको उपचार नहुने भन्दै ठूलै अप्रेसनको आवश्यकता औंल्याए ।

‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ,’ ओलीले साइबर सर्कल घोषणामा राजधानीमा बोल्दै भने, ‘धामी लगाएर यो क्यान्सर निको हुँदैन ।’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेरतर्फ संकेत गर्दै एकजनालाई फालेर न्यायिक क्षेत्रको समस्या समाधान नहुने बताए । उनले भने,‘धामी डाकेर दुबो र अन्डा राखेर मन्साउन खोजिएको छ । क्यान्सर निको पार्न अप्रेशनको आवश्यकता छ ।’

सर्वोच्च अदालतमा तमासा चलेको ओलीको टिप्पणी गरे । उनले भने, ‘सर्वोच्च अदालतको आँगनमा कम्फु कराँते खेल्नुहुन्छ वकिल साबहरु । बारमा तमासा, सर्वोच्च अदालतमा तामासा । पाँच दलीय गठबन्धनको सरकारमा यस्तै तमासा हुन्छ ।’

ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेसको पुच्छरको संज्ञा दिए । काँग्रेसले कुनै पनि बेला माधव नेपाललाई छाडिदिने ठोकुवा गरे ।

माधव नेपालको चर्को आलोचना गर्दै ओलीले भने, ‘१५ वर्ष एमालेमा बसेर तर मारेको मान्छे ।’ प्रचण्ड र माधव नेपालबाट देश बन्न नसक्ने ओलीको टिप्पणी थियो । उनले भने,‘ पछाडिको ढोकाबाट लुसुक्क काँग्रेसलाई भोट दिनेबाट देश बन्छ ?’

नेपाली काँग्रेसले अवसरवादीहरुको बैसाखी टेकेको ओलीको टिप्पणी थियो । उनले भने, ‘यस्ताहरुको बैसाखी टेकेर पिङ खेल्ने काँग्रेस । बुढो भयो काँग्रेस ।’

माधव नेपालले अलमलाएर झुक्याएर एमालेका मान्छेहरु लगेको भन्दै उनीहरु चाँडै फर्कने उनले टिप्पणी गरे । उनले प्रचण्डमाथि चटक गरेको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्