Logo

देउवालाई सभापति दोहोरिन यसकारण कठिन



काठमाडौं, ८ मंसिर । बहालवाला प्रधानमन्त्री हुनु, विरोधी दललाई कमजोर बनाउन सकेको जस लिनु र पार्टीभित्र पकड बढाउन सक्नु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि अनुकूल परिस्थिति हो । तर, १४औं महाधिवेशनमा देउवालाई सभापति जित्न सजिलो छैन ।

काँग्रेसको अधिकांश क्षेत्रीय अधिवेशनहरुको नतिजा र २४ जिल्लाको अधिवेशनबाट कुनै एक नेता बलियो अवस्थामा नरहेको स्पष्ट देखिइसकेको छ । अब नेताहरुबीचको समिकरणले सभापतिमा कस्ले बाजी मार्ने हो आँकलन गर्न सकिन्छ ।

काँग्रेसको बहालवाला सभापति भएकाले देउवा बलियो छन् । उनको साथमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँड, एनपी साउद जस्ता हस्तीहरु छन् । तर, काँग्रेसभित्र लामो राजनीतिक गरेका शक्तिशाली नेताहरु विजयकुमार गच्छेदार खुलेका छैनन् । उपसभापति विमलेन्द्र निधिले साथ छाडेका छन् ।

देउवालाई सभापति जित्न इतर समूह एकजुट नहुने अवस्था बन्नुपर्छ । त्यसमाथि पनि इतर समूहका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोइराला परिवार र कृष्णप्रसाद सिटौला एकजुट भएमा देउवालाई चुनाव जित्नु फलामको च्युरा चपाउनु सरह हुनेछ ।

देउवाको बहुमत महाधिवेशन प्रतिनिधि पक्षमा छैनन् । उनी अरु नेताभन्दा बलियो स्थितिमा मात्र छन् । उनको जीत आफू निकै मजुबत भएर भन्दा पनि विरोधी फुटेको अवस्थामा मात्र हुनसक्छ ।

काँग्रेसमा लामो समयदेखि प्रभाव बनाएको कोइराला परिवारका तीन सदस्य महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र शेखर कोइराला एक भएमा मात्र पनि देउवालाई सजिलो छैन । त्यसमाथि पनि प्रकाशमान सिंह यो समूहमा शक्तिबाँडफाँड गरी मिलेर अगाडि बढेमा देउवालाई झन् कठिन पर्नेछ । कोइराला परिवार र सिंह मिलेमा मात्र पनि माहोल फरक हुनसक्छ । अहिले देउवालाई सबैभन्दा डर यही छ । त्यसमा पनि विमलेन्द्र निधि पनि यही समूहमा सहभागी भइदिएमा झन् कठिन हुनसक्छ ।

देउवाका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा पनि इतर समूहको एकता चुनौती बनेको छ । पौडेल आफ्नो समूहबाट साझा उम्मेदवार ल्याउन सके छाडिदिने घोषणा गरिसकेका छन् । तर, पौडेलले पनि सजिलै छाड्ने सम्भावना कम छ ।

काँग्रेसभित्र देउवाले सभापति जित्न कोइराला परिवार फुट्ने, कोइराला र प्रकाशमान सिंह नमिल्ने अवस्थाबाट मात्र सजिलो हुन्छ । त्यो सम्भावना नभएको होइन तर कठिन छ । अन्तिम समयमा गुट परिवर्तनका घटना देखिनसक्छ । देउवाले कोइराला परिवारका कुनै एक सदस्य वा सिंहलाई तान्ने चर्चा पनि छ । तर, कोइराला परिवार देउवाको साथ गइहाल्ने सम्भावना कमजोर छ । सिंहले देउवालाई खुलेआम चुनौती दिइसकेकाले फेरि गइहाल्ने सम्भावना कम छ ।

अहिले देउवा पछि शक्तिशालीमा प्रकाशमान सिंह र कोइराला परिवार देखिएका छन् । यी दुई शक्ति मिलेमा देउवाका लागि सभापतिको प्रतिष्पर्धा फलामको च्युरा सरह हुनसक्छ ।

देउवाका लागि अहिले अर्को चुनौती सत्ता गठबन्धन सम्हाल्नु रहेको छ । एमसीसी पारित गर्ने दबाब देउवामाथि छ । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल तयार छैनन् । अमेरिकाले २८ मंसिरसम्मको समयसीमा तोकिएको छ । यो काँग्रेसको महाधिवेशनको ठिक पछि हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयले पनि देउवामाथि दबाब छ । यसलाई कसरी व्यवस्थापन गर्नुपर्ने चुनौती छ । सबै मुद्दा काँग्रेसको महाधिवेशनको मुखमा आएकाले देउवासामु चौतर्फी चुनौतीहरु थपिएका छन् । यसले उनको पुनः सभापति दोहोरिने चाहनामा धक्का पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्