Logo

भीम रावल ओलीपछि एमाले अध्यक्ष बन्लान् ?



समाचार विश्लेषण । नेकपा एमालेको इतिहास नै यस्तो छ कि अधिकांश परिस्थितिमा एउटा नेतालाई अर्कोले कडा चुनौती दिएर नेतृत्वमा पुगेको छ । माधव नेपाल मात्र त्यस्तो नेता हुन् जसले मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि महासचिव बने । तर, एमाले नबन्दै माले हुँदा सीपी मैनाली, झलनाथ खनाल जस्ता नेताहरु अर्को नेताको चुनौतीबाट नेतृत्वबाट हट्न पुगे ।

एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि १५ वर्ष एमाले महासचिव बनेका माधवकुमार नेपाललाई अध्यक्षमा पराजित गरेका थिए । उनले पार्टी नेतृत्वमा पुग्न निकै लामो संघर्ष गरे । माधव नेपालको आन्तरिक प्रतिद्वन्द्वी बनेर संघर्ष गरिरहे । अन्तमा उनले बाजी मारे । एमालेको विगत इतिहासलाई केलाएका उपाध्यक्ष डा. भीम रावलले त्यही पथबाट बढ्न खोजेको देखिदैछ ।

रावल एमाले अध्यक्ष ओलीको कटु आलोचक हुन् । ओली प्रधानमन्त्री हुँदा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालभन्दा चर्को स्वरमा आलोचना गर्ने उनी नै थिए । ओलीको तारोमा सबैभन्दा बढी रावल नै परे । तर, उनले एमाले परित्याग गरेनन् । माधव नेपाल र झलनाथ खनालले एमाले छाड्दा रावलले पार्टीमै संघर्ष गर्ने निर्णय लिए । यो उनको राजनीतिक जीवनमा जोखिम पनि थियो । राजनीतिशास्त्रमा विद्यावारिधी गरेका रावलले यसै गरी ओलीको आन्तरिक मुख्य प्रतिद्वन्द्वी बनेर भविष्यमा नेतृत्वमा पुग्ने रणनीति बनाएको बुझ्न सकिन्छ । जसरी ओलीले कहिले माधव नेपाल त कहिले झलनाथ खनालसँग संघर्ष गरेर अन्ततः पार्टी नेतृत्वमा पुगिछाडे । रावल त्यसरी नै बढ्न खोजेको देखिन्छ ।

ओलीको उत्तराधिकारी भनिएकाहरुमध्ये रावलको जत्तिको राजनीतिक उचाई बनाएकाहरु कमै छन् । रावल उपप्रधानमन्त्री भइसकेका छन् । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत ल्याएका थिए । उनले विद्या भण्डारी र बामेदव गौतमले भन्दा बढी मत ल्याएका थिए । रावलको सुदूरपश्चिम र कर्णाली प्रदेशमा व्यक्तिगत पकड पनि छ । ओलीबाहेक उनीसँग एमालेमा प्रतिष्पर्धा गर्नसक्ने ईश्वर पोखरेल र विष्णु पौडेल मात्र देखिन्छन् । दुवै उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।

आइतबार रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेर एमालेको राजनीतिमा तरंग ल्याइदिए । उनको उम्मेदवारीलाई लिएर एमालेभित्र कतिपयले व्यङ्ग्य गरे । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले रावल चर्चामा आउन खोजेको टिप्पणी गरेका छन् । रावलले ओलीलाई चुनाव हराउने सम्भावना देखिदैन । बरु ओलीले रावललाई भारी मतान्तरले पराजित गर्ने अवस्था छ । तैपनि, रावलले उम्मेदवारी दिनुलाई सामान्य रुपमा लिन मिल्दैन । उनको उम्मेदवारी र प्राप्त मतबाट एमालेभित्र ओलीप्रति असन्तुष्टहरुको प्रतिशत बुझ्न सकिन्छ । अब रावलले यो धारको नेतृत्व गर्ने संकेत मिल्छ ।

महाधिवेशनमा पराजित भएपनि रावलले ओलीविरोधी धारलाई एकजुट बनाएर नयाँ तरिकाले शक्ति सञ्चय गर्ने रणनीति अपनाएको देखिन्छ । विगतमा अन्य पार्टीमा पनि त्यसरी नै अध्यक्ष हार्ने जान्दा जान्दै उ्रम्मेवारी दिएकाहरु पछि पार्टीको नेतृत्वमा पुगेको इतिहास छ । नेपाली काँग्रेसभित्र शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध उम्मेदवारी दिएर पराजित भएका थिए । उनी हार्ने निश्चित थियो । तर, उनले कोइरालाविरोधी समूहलाई उम्मेदवारीमार्फत् एकजुट बनाउँदै लगे । १३औं महाधिवेशनमा सभापति बन्न सफल भए ।

रावलले पनि अहिलेको उम्मेदवारीबाट ओलीलाई चुनौती दिदै भविष्यमा नेतृत्वमा पुग्ने सन्देश दिन खोजेका छन् । ओलीका गल्तीहरु औल्याउँदै आफ्नो मिसनमा अगाडि बढ्न खोजेको देखिन्छ । । ओलीविरोधी मोर्चामा आफू नै अग्रपंक्तिमा रहेको र विभाजन हुँदा पनि जोखिम मोलेर एमालेमै रहेको सन्देश दिन खोजेका छन् । यो सन्देशमार्फत् उनले भविष्यमा एमालेको अध्यक्षको सशक्त दाबी प्रस्तुत गर्ने रणनीति बनाएको देखिन्छ । रावलले अहिले चालेको कदम वर्तमानका लागि नभई भविष्यमा एमाले नेतृत्वको ढोका खोल्नलाई हो भन्ने प्रष्ट छ ।



प्रतिक्रिया दिनुहोस्