Logo

नौतले दरबार पुनर्निर्माण अवरुद्ध



वीरगञ्ज, मंसिर ९। चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले गति लिन सकेको छैन ।

चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनर्निर्माण कोरोना शुरू हुनुअघि नै ८० प्रतिशत काम सकिएको प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले बताएको छ ।

पुनर्निर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल २ि०७६ चैतअघि नै चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकार्छन् ।

कोरोना शुरू हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनर्निर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले बताए । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् ।

कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले बताएको छ । विभागका महानिर्देशक दामोदर गौतम कोरोना शुरू हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्ये उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउँछन् । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न हुने उनको भनाइ छ । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

करीब १६ करोड लागतमा दरबार पुनर्निर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्