Logo

१५ मंसिरदेखि गोलाप्रथा



काठमाडौं, मंसिर ९। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्न विहीबार ‘फुलकोर्ट’ बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको बैठकमा बिहीबार ‘फुलकोर्ट’ बैठक बसेर पेसी व्यवस्थापनको विषयमा निर्णय गर्ने सहमति भएको छ ।

प्रधानन्यायाधीशबाहेक बसेको न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति गरेको छ । न्यायाधीशहरूको बुधबारको छलफलले १५ मंसिरदेखि गोलाप्रथाबाट इजलास तोक्ने सहमति बनेको छलफलमा सहभागी एक न्यायाधीशले जानकारी दिए ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने निष्कर्षमा न्यायाधीशहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

प्रधानन्यायाधीशसँग इजलास साझेदारी गर्ने विषयमा सर्वोच्चका १९ न्यायाधीशमध्ये ६ न्यायाधीश सहमत भएको सर्वोच्च स्रोतले जानकारी दियो । वरिष्ठतम् न्यायाधीशहरू भने प्रधानन्यायाधीश राणासँग इजलास साझेदार नगर्ने पक्षमा देखिएका छन् ।

६ मंसिरमा सर्वोच्चमा मुद्दाको पेसी गोला प्रणालीबाट तोक्नेगरी नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको थियो । फुलकोर्टले मिति तोकेपछि यो प्रणाली लागू हुने संशोधित नियमावलीमा उल्लेख छ ।

सोमबार राजपत्रमा सर्वोच्च अदालत ९दोस्रो संशोधन० नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । सो सूचना राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बैठक बसेर गोलाप्रथाबाट पेसी तोकिने मिति तोकिनेछ ।

गोलाप्रथाबाट पेसी तोकिने नियमावली लागू हुने भएसँगै प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारका रूपमा रहँदै आएको अधिकार कटौती भएको छ । सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेसी तोकिने भएपछि सो अधिकार कटौती भएको हो ।

२ मंसिरको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्नेगरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । सो बैठकको निर्णयलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फुलकोर्ट बैठकले मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित भएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्