Logo

अबको चुनावमा कांग्रेस ‘हाफ’, प्रचण्ड-माधव पत्तासाफः महेश बस्नेत (भिडियोसहित)



काठमाडौं, मंसिर ९ । नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

जनतालाई धोका दिएकाले निर्वाचन पछि कांग्रेस वर्तमान अवस्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टी पत्तासाफ हुने नेता बस्नेतको दाबी छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा आयोजना गरिएको विचार गोष्ठी तथा साइार सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको सरकार भएकाले देश र जनताको पक्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलिरहेको आरोप लगाए ।

कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

एमाले तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हासिल गरि सिंहदरबार प्रवेश गरी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढ्ने उनले जनाए ।

‘वर्तमान सरकारलाई पाँच दलीय भनिन्छ तर यो पाँच दलीय हैन, १.४ दलीय गठबन्धन भन्छु । एक भनेको कांग्रेस र पइन्ट ४ भनेको माओवादी, नेकपा एस, जसपा र जनमोर्चा हो । १.४ गठबन्धनको कुनै अर्थ छैन । एमाले जनताको पार्टी हो । आगामी निर्वाचनमा जनताले एमालेलाई दुई तिहाई मतका साथ सिंहदरबार पठाउँनेमा ढुक्क छौं। त्यसपछि एमालेले स्थिर सरकार साथ समृद्ध नेपाल सुखी नेपालीको अभियानमार्फत देश र जनताको पक्षमा काम गर्ने छ । देशको गुमेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता आउने छ । हाम्रो स्वाभिमान विश्वसामु अझ उचो बन्नेछ ।’

एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा नेता बस्नेतको जोड छ । अध्यक्ष ओली नै मुुलुक र जनताको लागि ‘फादर अफ द नेशन’ भएको उनले दावी गरे । आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउनेसमेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्