Logo

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ



सोलुखुम्बु, ९ मङ्सिर: हिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । केही दिनपछि सल्लेरी क्षेत्रमा पनि पानी जम्ने गर्छ ।

अहिलेको चिसोका कारण बिहान–बेलुका मानिसको चहलपल निकै कम हुने गरेको भए पनि स्टार युथ क्लबको स्थापना दिवसका अवसरमा आयोजित साङ्गीतिक साँझले सोलुखुम्बुवासीलाई तताएको छ । मङ्सिर महिनाको चिसो मौसम भए पनि बुधबार राति १ बजेसम्म त्यहाँका स्थानीय नागरिक राष्ट्रिय तथा स्थानीय कलाकारसँग जिल्ला समन्वय समिति सल्लेरीको प्राङ्गणमा औधी रमाइरहेका थिए ।

मञ्चमा कलाकारको प्रस्तुति थियो भने प्राङ्गणमा दर्शकको उस्तै जोशका साथ आ–आफ्नै प्रस्तुति रहेको थियो । यसले गर्दा पनि कार्यक्रमलाई थप रङ्गिन बनाएको थियो । राष्ट्रिय कलाकार शेरबहादुर गुरुङको जादुमय प्रस्तुतिलाई धेरै दर्शकले रुचाएका थिए । उनले प्रस्तुतिसँगै विभिन्न जादु देखाउँदा दर्शक आश्चर्यचकित बनेका थिए । उनले पानी सकिएको लोटाबाट पटकपटक पानी खन्याउने, लठ्ठीबाट छातालगायतको अन्य सामग्री बनाउने, कपडाको परिकारसँगै फोटो फ्रेमभित्रबाट चरा झिकेर उडाएका थिए ।

यस्तै मोडल सिर्जना राईका नृत्यमा धेरै दर्शकले भिडियो खिच्दै आनन्द लिएका थिए । सोलुखुम्बु सोताङ घर भएकी उनी नृत्य अन्तिममा भए पनि उत्कृष्ट भएको दर्शकले प्रतिक्रिया दिए । कार्यक्रम उपस्थित दर्शकबाट कोरोना महामारीको त्रासले घरैमा बस्न बाध्य भएका आम नागरिकलाई मनोरञ्जनसमेत आवश्यक थियो भन्ने सन्देश पाइएको पावैका गोबिन्द राईले बताए । घरैमा बस्न बाध्य भएकै कारण दर्शकको उपस्थिति बाक्लिएको अनुमान गरिएको छ । करिब पाँच हजार बढी दर्शकले समन्वय समितिको प्राङ्गणदेखि वरिपरिको क्षेत्र भरिएको थियो ।

कार्यक्रममा सांसद हेमकुमार राई (शुरवीर), थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईलगायतको सहभागिता थियो । जिल्लामै पहिलोपटक रात्रिकालीन भलिबल खेल खेलाएको क्लबले साङ्गीतिक साँझमा पनि उल्लेखनीय दर्शक प्राप्त गरेको तेजबहादुर राईले बताए ।

क्लबका स्वयंसेवकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेका थिए भने सिसिक्यामेराबाट समेत निगरानी गरिएको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताए । कार्यक्रममा आउने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बस्ने व्यवस्था गरिनु राम्रो पक्ष भएको सल्लेरीका पासाङ तामाङको भनाइ छ ।

साङ्गीतिक साँझमा राष्ट्रिय कलाकार प्रताप दास, कैलाश कार्की, सुनिल कटुवाल, अस्मिता अधिकारी, पूर्ण राई, मनराज बाहिङ, कुमार प्रयास, सनकुमार तामाङ, सिर्जना राई, केशव कसुर, खगेन्द्र राई, विनोद विक्रम र सङ्गम राईको प्रस्तुति थियो । स्टार युथ क्लबले आफ्नो स्थापना दिवसका अवसरमा प्रदेश नं १ महिला तथा जिल्लाभित्रका स्थानीय तह सङ्घसंस्था समान राशि पुरुष भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझको आयोजना गरेको छ । भलिबल प्रतियोगिताको आज फाइन खेल हुने भलिबलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङले जानकारी दिए । महिलातर्फ झापा, खोटाङ र ओखलढुङ्गासहित सात र पुरुषतर्फ १३ समूहको सहभागिता थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्