Logo

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा



चितवन, ९ मङ्सिर: नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् । उनले भने, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उनले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

यस्तै नेकपा (एमाले)का नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताए । उनले भने, “साथीहरुले आन्तरिक तयारी सुरु गरेका छन् । आकांक्षा राख्न पाइन्छ ।”

फरक प्रसङ्गमा बोल्दै उनले आफू सचिवको उम्मेद्वार रहेको बताए । उनले भने, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए । पत्रकारहरुसँग कुराकानी गर्दै उनले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “अन्यमा समस्या छैन । १० बुदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उनीहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उहाँले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उन जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताए । उनले भने, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्