Logo

केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिन्छु, यो महाधिवेशनले सवल नेतृत्व दिन सकोस : केसी (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र केसीले पार्टीको १४औं महाअधिवेशनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने नेतृत्व चयन गर्ने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकलाई दिशा दिनसक्ने र समृद्धिको दिशामा अघि बढाउने नेतृत्व आउनेमा हामी व्यग्र प्रतिक्षामा छौं । यो अधिवेशनले सवल नेतृत्व दिन सकोस ।’

उनले आफूले यसपटक केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने पनि सुनाए । उनले अहिले एमाले, माओवादी केन्द्रको पनि अधिवेशन हुन गैरहेको भन्दै लोकतन्त्र बलियो बनाउनको लागि दलको अधिवेशन आवश्यक भएको सुनाए । उनले नीति र नेतृत्वसँगै जानुपर्नेमा पनि जोड दिए । उनले सबै दलको गन्तव्य एउटै भएको तर बाटो फरक हुनसक्ने सुनाए।

उनले भने,‘अहिले सबै पार्टीको अधिवेशन हुँदैछ । सबै दलको चाहना भनेको मुलुकलाई समृद्ध बनाउनु नै हो । बहुदलीय प्रजातन्त्रमा धेरै पार्टी रहन्छन् । दलहरुले जनतालाई आफ्नो नीतिअनुसार आकर्षित गर्ने कुरा स्वभाविक नै हो । एमाले, माओवादी र राप्रपाले अहिले महाधिवेशन गर्दैछन् ।’

उनले आफूहरु महाधिवेशनको लागि सम्पूर्ण रुपले अघि बढिरहेको सुनाए । उने भने,‘केन्द्रीय अधिवेशन मंसिर २४ गते गर्दैछौं । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढेका छौं । राजनीतिक प्रणाली जसरी अघि बढ्छ, त्यहीअनुसार पार्टी अघि बढ्नुपर्छ । संघीयताअनुसार हामी १४औं महाधिवेशन गर्दैनौं । अहिले वडादेखि केन्द्रसम्मको अवस्था हेर्दा, ४ हजार भन्दा महाधिवेशनप्रतिनिधिहरु आउनुभएको छ । अधिकांश युवाहरु आउनुभएको छ । क्लष्टर छुट्याएका छौं । सबैको प्रतिनिधित्व होस भनेर विधानमा स्पष्ट लेखिएको छ। हामी त्यहीअनुसार अघि बढ्छौं ।’

उनले हिमाल, पहाड र तराई कोही छैन पराई भनेजस्तै सबैलाई पार्टीमा उचित स्थान हुने पनि बताए । उनले भने,‘महाधिवेशन नियमित प्रक्रिया हो । कांग्रेसको महाधिवेशन केही िढला भयो, तर अब मंसिरभित्र सम्पन्न गर्छौं । अब ठीक ढंगले मुलुकलाई अघि बढाउनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्