Logo

एमालेमा महेश बस्नेतको हातमा जिताउने र हराउने मत



काठमाडौं, ९ मंसिर । नेकपा एमालेमा व्यक्तिगत पकडका दृष्टिले केपी शर्मा ओलीपछि शक्तिशाली नेतामध्ये महेश बस्नेत पनि देखिएका छन् । ओलीका विश्वासपात्र मानिएका बस्नेतले युवा विद्यार्थीमा निकै बलियो पकड बनाएका छन् ।

नयाँ पुस्ताबाट एमालेको प्रतिनिधि चयन भएकामा बस्नेत निकटस्थहरुको उल्लेख्य संख्या छ । हक्की र लडाकु स्वभावका बस्नेत कार्यकर्ता संरक्षणमा पनि अगाडि छन् । त्यसैले उनले पार्टीभित्र बलियो पकड बनाएका छन् ।

बस्नेत ओली प्रधानमन्त्री हुँदा बढी शक्तिको अभ्यास गर्नेमा पर्छन् । उनले सरकारमा मन्त्री नबनेपनि बनेकाहरुले भन्दा बढी शक्तिको अभ्यास गरे । युवा पीढीलाई आकर्षित गरेर पकड बलियो बनाए ।

एमालेमा ठूलो संख्यामा महेश बस्नेत प्रतिनिधिहरु चयन भएर आएकाले उनी पदाधिकारी देखि केन्द्रीय सदस्यमा जिताउने र हराउने सामथ्र्यमा पुगेका छन् ।

एमालेमा सभापतिमा बस्नेतले बा भन्ने गरेका केपी शर्मा ओली जित्ने निश्चित छ । उनलाई भीम रावलले चुनौती दिएपछि केही नलाग्ने निश्चित नै छ । तर, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र केन्द्रीय सदस्यहरुको निर्वाचन भएमा बस्नेतले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनी स्वयं सचिवका दाबेदार हुन् ।

अहिले एमालेका हस्ती नेताहरुले समेत महेश बस्नेतसँग सम्पर्क गरेर साथ खोज्न थालेका छन् । उनीसँग ठूलो संख्यामा समर्थक प्रतिनिधि रहेकाले हावी भएका हुन् । संगठनमा बलियो पकड बनाएकाले बस्नेत नेताहरुको खोजीमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्