Logo

पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ, उहाँलाई टक्कर दिने नेता माओवादीमा अहिले कोहीपनि हुनुहुन्न : झक्कुप्रसाद सुवेदी



काठमाडौं, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए । उनले भने,‘विपी कोइराला २५ देखि ३० वर्षसम्म पार्टी सभापति हुनुभयो । एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व गर्नुहुन्न भन्नुहँदैन् । म दुई दशकदेखि केन्द्रीय सदस्य छु । अध्यक्ष भएको पनि प्रचड २१ वर्ष भयो । पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ। प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा अहिले कोहीपनि हुनुहुन्न, भोलिका दिनमा आउनुभयो भने छलफल हुन्छ। तर प्रचण्डले सापेक्षिक रुपमा सही नेतृत्व गर्नुभएको छ । प्रचण्डको विकल्प पार्टीमा छैन् ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा अघि बढिसकेको सुनाए । उनले भने,‘हामी राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न गैरहेका छौं । यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदैछ । संगठन, सम्पर्क मञ्चको पनि एकदैदिन सम्मेलन हुन्छ।’ उनले आगामी पुष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गरिनेगरि अघि बढेको सुनाए । उनले भने,‘हामीले । माओ दिवस दिनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैछौं । समयको हिसाबले अझै एक महिना छ । पार्टीले तल्लो तहदेखि प्रचार गरिरहेको छ ।’ आफ्नो पार्टीको अधिवेशनको बारेमा त्यति चर्चा नहुनुको कारण सर्वसम्मत् रुपमा वडादेखि नै नेतृत्व चयन गरिनु नै भएको सुनाए ।

उनले कांग्रेसको महाधिवेशनको बढि चर्चा हुनुको कारण शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले गर्दा केन्द्रदेखि तलसम्म चुनाव भएकोले प्रतिष्पार्ध देखिएको सुनाए । उनले आफ्नो पार्टीले संविधानको मर्म र भावनाअनुसार कदम चालेको र निर्णय लिएको पनि सुनाए । उनले भने,‘हामी त नगरपालिकामा पनि महिला मेयर नै हुनुपर्छ भन्दैछौं । समाजको बनोटअनुसार पार्टी बनाउनुपर्छ । वडादेखि केन्द्रसम्म त्यहीअनुसार नेतृत्व बनाउनुपर्छ । ३५ प्रतिशत महिला हुनुपर्छ । २० प्रतिशत युवा हुनुपर्छ । विधान बनिसकेको छ ।’

उने यही मंसिर २५ गते प्रदेश सम्मेलन हुने र त्योपनि विधानअनुसार नेतृत्व आउने सुनाए। उनले एमालेको महाधिवेशनको कुरा गर्दा विचारको कुरा त्यहाँ नभएको आरोप लगाए । उनले भने,‘हामीले एमालेको दस्तावेज हेरेका छैनौं । अहिलेसम्म राजनीतिक दस्तावेज बाहिर आएको छैन् । आगामी कार्यक्रम के हो ? एक वर्षको के हो ? दश वर्षको के हो ? कार्यनीति र रणनीति के हो ? यो हामीले एमालेको दस्तावेज हेरेका छैनौं । यता कांग्रेसमा विचारको मतभेद छैन् । एमालेमा वैचारिक मतभेद देखिन्छ। घनश्याम भुषालले फरक मत ल्याएको देखेका छौं । पत्रपत्रिकामा देखेका छौं । तर, बाहिर आएको छैन् ।’

उनले एमालेको १०औं महाधिवेशनपछि पनि केपी शर्मा ओली नै अध्यक्ष हुने सुनाए । उनले भने,‘अहिले ओलीले नै चुनाव जित्नुहुन्छ । माधव नेपालहरु त्यहाँ भएको भए रामाईलो हुन्थ्यो । विचार लागु गर्ने नेतृत्व हुनुपर्दथ्यो । अहिले त्यहाँ वैचारिक बहस हुने सम्भावना देखिँदैन ।’ उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको र भोलिका दिनमा एकता हुनसक्ने सुनाए । उनले भने,‘हिजो विप्लव मोहन बैद्यसँग जानुभयो । वैचारिक बहसबाट उहाँहरु जानुभएको हो । उहाँहरु २ वर्षसम्म भूमिगत हुनुभयो । पुँजीवादी क्रान्ति पूरा भयो । पुँजीवादी क्रान्तिका केही कार्यभार बाँकी छ। शान्तिपूर्ण तवरले बाँकी कार्यभार पुरा गर्न सक्छौं । उहाँलाई जुन दिन शान्तिपूर्ण तरिकाले पुँजीवादी क्रान्तिका कार्यभार पूरा गर्न सक्छौं भन्ने लाग्छ, उहाँहरु आउनुभयो भने एकता हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्