Logo

भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु प्रदान



काठमाडौं, ९ मंसिर । भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रक प्रदान गरिएको छ । टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो । भारतीय सेनाको तर्फबाट भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका हुन् ।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाईएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो । रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गर्दछ । यस सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत गर्नेछ । भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवम् आधुनिक बनाउन निरन्तर सहयोग गर्ने दुतावासद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्