Logo

प्रदेश २ सरकारद्वारा मधेशी शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त



जनकपुर, ९ मङ्सिर: प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो ।

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई समितिमा नियुक्त गरेको हो । प्रतिष्ठानले सर्लाहीका रामनरेशराय यादव, महोत्तरीकी सिम्पीकुमारी साह, सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाललाई नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त सदस्यहरुलाई आजै प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरे । मधेशी शहीद प्रतिष्ठान निर्देशिका अनुसार प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार सदस्य तथा मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेको उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्थालगायत काममा जुट्न सदस्यहरुलाई निर्देशन दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्