Logo

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर र सुवासमध्ये कस्ले मार्ला बाजी ?



काठमाडौं, ९ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ मुख्य प्रतिष्पर्धी देखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै नेता वरिष्ठ उपाध्यक्ष बनेर आफूलाई पार्टीको भावी अध्यक्षमा उभ्याउन खोजिरहेका छन् ।

ओलीको उत्तराधिकारी को भन्ने वरिष्ठ उपाध्यक्ष चयनले लगभग स्पष्ट गर्नेछ । यसकारण पनि पोखरेल र नेम्वाङ अगाडि बढेका छन् । नेम्वाङले काठमाडौंबाटै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासचिव पोखरेल नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित भएका थिए । उनले सुरेन्द्र पाण्डेलाई झीनो मतान्तरले पराजित गरेका थिए । एमालेको संगठनमा बलियो पकड बनाएका उनी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री थिए । काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोखरेल पार्टीमा व्यक्तिगत पकड बनाएका नेता हुन् ।

स्थायी कमिटि सदस्य नेम्वाङ पूर्व सभामुख हुन् । उनी कानुन व्यवसायी पनि हुन् । राजनीतिमा चतुर नेम्वाङको निर्वाचत क्षेत्र इलाम हो जहाँबाट उनी पटक पटक निर्वाचित हुँदै आएका छन् । संविधान जारी हुँदा उनी संविधानसभाको अध्यक्ष थिए । एमाले अध्यक्ष ओलीका विश्वासपात्र नेम्वाङको पार्टीभित्र व्यक्तिगत पकड भने पोखरेलको तुलनामा कम छ । तर, पोखरेललाई भन्दा ओली नेम्वाङलाई बढी विश्वास गर्छन् । यो उनका लागि अनुकूल परिस्थिति बन्नसक्छ ।

एमालेको १०औं महाधिवेशनमा ओलीले चाहेको धेरैथोक हुनसक्छ । पदाधिकारी चयनमा पनि उनको चाहनाले धेरै काम गर्छ । यसो भएमा नेम्वाङ नै वरिष्ठ उपाध्यक्ष बन्न सक्छन् । तर, महासचिव भइसकेका र ओलीलाई कठिन घडीमा साथ दिएकाले पोखरेललाई पन्छाउन ओलीलाई कठिन हुन्छ ।



प्रतिक्रिया दिनुहोस्