Logo

देउवा पक्षभित्रै टकराव



काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसको वडा देखि जिल्ला तहसम्मको अधिवेशनहरुमा सभापति शेरबहादुर देउवा पक्षभित्रै टकराव बढेको छ । कतिपय जिल्लाहरुमा देउवा पक्ष एक आपसमा जुधेका छन् । कतिपयमा इतर समूहले फाइदा लिएका छन् ।

कञ्चनपुरमा देउवा पक्षका नेताहरु एनपी साउद र रमेश लेखकबीच टकराव देखिएको छ । दुवैले एक अर्काका पक्षधरलाई हराउन खोज्दा जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । कञ्चनपुरका काँग्रेस जिल्ला सभापति हरिप्रसाद बोहरा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका छन् । उनी ११औं नम्बरमा परेर खुलातर्फ पराजित भएका हुन् । बोहरा रमेश लेखक पक्षधर हुन् । साउदले अधिकांश आफू पक्षधर महाधिवेशन प्रतिनिधिलाई जिताउन सफल भएका छन् ।

केन्द्रमा दुवै देउवा पक्षधर भएपनि जिल्लामा एक अर्काका प्रतिद्वन्द्वी हुन् । लेखक देउवाका विश्वासपात्र मानिन्छन् ।

यसैगरी, ललितपुरमा देउवा पक्षधरबीच नै क्षेत्रहरुमा द्वन्द्व देखिएको छ । नेविसंघ पूर्व उपसभापति रामकृष्ण चित्रकार र तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतबीच टकराव देखिएको हो । यसको बढी असर क्षेत्र नम्बर २ र ३ मा परेको छ । चित्रकारको साथमा देउवा पक्षकै वर्तमान जिल्ला सभापति मदनबहादुर अमात्य छन् । तर, बस्नेतले अमात्यको क्षेत्रमा उनलाई कमजोर पारिदिएका छन् । जिल्ला सभापतिमा जितजङ्ग जितेन्द्रकुमार श्रेष्ठको पक्षमा खुलेका छन् । श्रेष्ठलाई उदय शमशेर राणाको समेत साथ छ । देउवा पक्षका नेताहरु एक आपसमा जुध्नुमा उनीहरुको बलियो पकड पनि कारण हो ।

यसैगरी, महामन्त्रीको दौडमा रहेका देउवा पक्षका नेताहरुबीच पनि टकराव बढ्दै गएको छ । महामन्त्रीको आकांक्षीमा गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु एनपी साउदलगायत छन् । महामन्त्री पूर्णबहादुर खड्का यही पदमा दोहोरिने या उपसभापतिमा उक्लने तयारीमा छन् ।

देउवा पक्षका युवा नेताहरु पदाधिकारीका आकांक्षी छन् । उनीहरुको व्यवस्थापन कठिन छ । त्यसमाथि अर्को समूहबाट नेताहरु तानेर महत्वपूर्ण पदहरु दिनुपर्ने भएकाले पनि देउवालाई चुनौती बढेको छ ।



प्रतिक्रिया दिनुहोस्