Logo

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी



काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा। प्रकाशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद भिड्ने तयारीमा छन् ।

खाँण हाल सरकारमा गृहमन्त्रीसमेत छन् भने शर्मा कांग्रेस प्रवक्ता हुन् । यो समूहबाट देउवाले आफ्नो टिममा यी नाममध्ये दुई जना छान्ने सम्भावना रहन्छ । तर, कसलाई छान्नेछन् भन्ने तय भएको छैन । यसैगरी, संस्थापनइतर समूहबाट डा। मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रिजालइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्रीसमेत छन् । यसैगरी, थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिँदै आएका छन् ।

अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । यसैगरी, शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्