Logo

स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश, आज ३०० बढी स्वास्थ्यकर्मी परिचालन हुदैं



चितवन, मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।

एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको जनाईएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने छ ।

बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

त्यस्तै आज हुने एमाले महाधिवेशनको उद्घाटन सत्रमा हरेक ¥यालीसँगै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन हुनेछन् । महाधिवेशनका लागि विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, फर्मासिस्टसहित ३०० बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

त्यस्तै महाधिवेशन उद्घाटनस्थलको छेउमा एउटा र अर्को उद्योग वाणिज्य सङ्घ चितवनको नजिक गरी दुईवटा औषधोपचारस्थल निर्माण गरिएको छ भने नदी किनारमा दुई एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजे नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्