Logo

ललितपुर काँग्रेस अधिवेशनमा प्रकाशशरण महत यसकारण बनाइए प्रमुख अतिथि



काठमाडौं, १० मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्लाको अधिवेशन सुरु भएको छ । अधिवेशनमा काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि बनाइएका छन् ।

जिल्ला सभापति मदनबहादुर अमात्यले महतलाई प्रमुख अतिथि बनाउनु अर्थपूर्ण छ । अमात्यले समर्थन गरेर जिल्ला सभापतिको उम्मेदवारी दिएका रामकृष्ण चित्रकार महतसँग नजिक मानिन्छन् ।

महत काठमाडौं उपत्यकाभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई चुनौती दिने सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका छन् । महत पक्ष काठमाडौं र ललितपुर दुवै जिल्लामा सिंह पक्षलाई चुनौती दिइरहेको छ ।

ललितपुरको राजनीतिमा देउवा पक्ष विभाजित छ । देउवा पक्षका अमात्य र चित्रकार एउटा समूहमा छन् भने उदय शमशेर राणा र जीतजङ्ग बस्नेत फरक समूहमा छन् ।

राणा र बस्नेतले सिंह र कोइराला समूहसँग समिकरण बनाएको छ । सिंह निकट जीतेन्द्र श्रेष्ठ सभापतिका उम्मेदवार छन् । उनलाई राणा र बस्नेतको समेत साथ छ ।

दक्षिणी ललितपुरका प्रभावशाली काँग्रेस नेता मथुरा घिमिरे पनि जीतेन्द्र श्रेष्ठलाई साथ दिन पुगेको बुझिएको छ । घिमिरे सुजाता कोइरालासँग नजिक छन् ।



प्रतिक्रिया दिनुहोस्