Logo

पौडेललाई उपाध्यक्षमा उकालेर पोखरेललाई महासचिव बनाउने ओलीको प्रयास



काठमाडौं, ११ मंसिर । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिव महत्वपूर्ण पद बनेको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र महासचिव एक मात्र हुने व्यवस्था छ । यी तीनवटै पद त्यसकारण पनि महत्वपूर्ण बनेका छन् ।

अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष जो बन्छ उही अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने सम्भावना बलियो हुन्छ । महासचिव शक्तिशाली पद हो । संगठनमा महासचिवको बलियो पकड रहन्छ । यसकारण वरिष्ठ उपाध्यक्षपछि वरियतामा उपाध्यक्षहरु रहेपनि महासचिव महत्वपूर्ण पद बनेको छ ।

महासचिवमा उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्य दाबेदार देखिएका छन् । नेकपा हुँदा महासचिव भइसकेका पौडेलले प्राकृतिक रुपमै आफूले उक्त पद पाउनुपर्ने दाबी गर्दै आएका छन् । ओलीका विश्वासपात्र मानिएका शंकर पोखरेल पनि आफूसँग उक्त पदको जिम्मेवारी लिने खूबी रहेको दाबीका साथ बढेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले विष्णु पौडेललाई उपाध्यक्षमा उकालेर शंकर पोखरेललाई महासचिव बनाउने प्रयास गरेका छन् । पोखरेलप्रति ओली बढी विश्वस्त छन् । पौडेलले पनि ओलीलाई कठिन समयमा साथ दिएका छन् । तैपनि, उनी पोखरेललाई बढी भरोसा गर्दै आएका छन् ।

पौडेल पूर्व उपप्रधानमन्त्री हुन् । पोखरेल पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् । अब यी दुईमध्ये एकमध्ये कसैलाई पछि हटाएर ओलीले सहमति बनाउने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्