Logo

सीडी रेसियोमा राष्ट्र बैंकको अप्रत्यक्ष सहजता



काठमाडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र कायम गर्न अप्रत्यक्ष रूपमा सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै तोकिएको सीमामा सीडी रेसियो कायम गर्न सहजता प्रदान गर्ने संकेत देखाएको हो ।

राष्ट्र बैंकले कायम गर्नुपर्ने सीडी रेसियो सीमा बढाएको छैन । तर, तोकिएको सीमा अर्थात् ९० प्रतिशतमा सीडी रेसियो राख्न सहजता दिने संकेत दिएको छ ।

चालू आवको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो २०७९ असार मसान्तभित्र ९० प्रतिशतमा कायम गर्नुपर्ने भनेर मात्र उल्लेख गरिएको थियो । अहिले भने असार मसान्तभित्र सीडी रेसियो तोकिएको सीमामा ल्याउन कार्ययोजना बनाउनुपर्ने भनेर थप व्यवस्था गरिएको छ । त्यसअनुसार बैंकहरूले तत्काललाई निर्धारित सीडी रेसियोको सीमाभन्दा माथि गएर पनि कर्जा प्रवाह गर्न सक्नेछन् ।

अहिले कुनै बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । उक्त बैंकले तत्काललाई सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुग्ने गरी पनि कर्जा प्रवाह गर्न सक्नेछ । तर, असार मसान्तसम्ममा भने सीडी रेसियो ९० प्रतिशतभित्र नै कायम हुनुपर्ने बताइएको छ ।

तर, यस्ता विषयलाई बैंक तथा वित्तीय संस्थाहरूले सीडी रेसियो कायम गर्ने सम्बन्धमा बनाउने कार्ययोजनामा समावेश गर्नुपर्ने छ । असारमसान्त भित्र कुनै पनि बेला सीडी रेसियो कुनै पनि सीमामा पुग्ने गरी बैंकहरूले कार्ययोजनामा बनाउन सक्नेछन् । तर, असार मसान्तभित्र भने सीडी रेसियो ९० प्रतिशतभित्र हुनेगरी कार्यायोजना बनाउनुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाहरूले उक्त कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गरी राष्ट्र बैंकमा पनि पेश गर्नुपर्नेछ । त्यसपछि मात्र त्यो कार्ययोजना कार्यान्वयन गर्न सकिनेछ । राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत यो व्यवस्था कार्यान्वयनमा ल्याउनेछ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot