Logo

दैनिक नौ हजार स्मार्ट लाइसेन्स छापिने



काठमाडौं, मङ्सिर १२ । करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ ।

फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो ।

विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ । ”

करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ । उनकाअनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ ।

छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन । विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ । तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ ।

जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ । सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ । तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ ।

हाल दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्