इंग्लिस प्रिमियर लिगः साउथह्याम्पटनमाथि लिभरपुलको सहज जित


काठमाडौं, १२ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले हराउदै फराकिलो जित निकालेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरेका थिए । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमै डिएगो जोटाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको ३७ औं मिनेटमा थियागो अलाकान्टराले गोल गर्दै खेल ३–० को अवस्थामा पुगेको थियो ।

खेलको ५२ औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दै लिभरपुललाई ४–० को शानदार जित दिलाए ।

जितसँगै लिभरपुल २८ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने १४ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ ।