Logo

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण



काठमाडौं, १२ मङ्सिर: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कङ्लकी, भैँसेपाटी, भीमसेनगोला, गङ्गालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मङ्गलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत ती मोटरसाइकल वरामद गरेको जानकारी दिए ।

सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ । यस आर्थिक वर्ष २०७८÷७९ मा हराएका १७६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको महशाखाले जनाएको छ ।-रासस/File Photo-RN



प्रतिक्रिया दिनुहोस्