Logo

ललितपुर काँग्रेसमा १२ मतको जीत, प्रकाशमाननिकट जीतेन्द्रको पक्षमा यसरी पल्टियो पासा



ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिको प्रतिष्पर्धामा जीतेन्द्रकुमार श्रेष्ठले कठिन जीत हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारलाई मात्र १२ मतले पराजित गर्न सफल भए ।

उपत्यकाको दोस्रो ठूलो जिल्ला भएकोले ललितपुर काँग्रेसको राजनीतिक निकै महत्वपूर्ण बनेको थियो । पूर्वराज्यमन्त्री उदय शमशेर राणा, तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, नेविसंघ पूर्व उपसभापति रामकृष्ण चित्रकार, पूर्व सहमहामन्त्री बाबुराजा चित्रकार, पूर्व सांसद धना खतिवडा जस्ता हस्ती नेताहरु छन् ।

जिल्लामा दुई दशकभन्दा बढी समययता मदनबहादुर अमात्यको एकल पकड थियो । उनले रामकृष्ण चित्रकारलाई समर्थन गरे । चित्रकारलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द्र महर्जनले पनि खुलेर साथ दिएका थिए ।

श्रेष्ठलाई उदय शमशेर राणा, जीतजङ्ग बस्नेत, बाबुराजा चित्रकार, मथुरा घिमिरे जस्ता नेताहरुको साथ थियो ।

शनिबारको मतदानमा तीनजना उम्मेदवार थिए । जसमा रामकृष्ण चित्रकारले ५०४, जीतेन्द्र श्रेष्ठले ४८२ र मिनकृष्ण महर्जनले ३३६ मत ल्याएका थिए । श्रेष्ठ र महर्जनले एउटै टिम बनाएर सभापति पनि लडेका थिए । कुनै पनि उम्मेदवारले ५० प्रतिशत ल्याउन नसके बढी मत ल्याउनेलाई सघाउने सहमति श्रेष्ठ र महर्जनबीच भएको थियो । तर, आफूलाई धोका भएको भन्दै महर्जन परिवर्तित भए ।

महर्जनले चित्रकारलाई सघाउने निर्णय गरे । तर, उनलाई खसेको ३३६ मध्ये अधिकतम मत जीतेन्द्र श्रेष्ठलाई खस्यो ।

विहान मतदान हुँदाहुँदै मदनबहादुर अमात्यले उदय शमशेर राणामाथि हात हाले । यसले पनि चुनावमा असर गरेको बुझिएको छ । अमात्यको कार्यशैलीले उनी देखि मतदाता चिढिएका थिए । अन्तमा जितेन्द्र श्रेष्ठले बाजी मारे ।

केन्द्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट जितेन्द्र श्रेष्ठलाई सुजाता कोइरालाको समेत साथ रह्यो । सुजाता कोइरालानिकट मथुरा घिमिरे र सुन्दर तामाङले श्रेष्ठलाई साथ दिए । संस्थापन पक्षका उदय शमशेर राणा र जीतजङ्ग बस्नेत समेत श्रेष्ठको पक्षमा खुलेका थिए । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट पूर्व सांसद धना खतिवडा पनि उनकै पक्षमा रहिन् ।

चित्रकार सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनलाई सहमहामन्त्री डा. प्रकाशशरण महतको बलियो साथ थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि चित्रकारलाई भित्री रुपमा साथ दिइरहेका थिए । तर, रोचक भिडन्तमा श्रेष्ठ बाजी मारे ।

ललितपुर काँग्रेस सभापतिमा जीतेन्द्र श्रेष्ठ १२ मतले विजयी



प्रतिक्रिया दिनुहोस्