Logo

नेतृत्व परिवर्तनको मुद्दासहित पौडेलले सार्वजनिक गरे काँग्रेस रुपान्तरणका १० सूत्र



काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्व परिवर्तनको मुद्दासहित रुपान्तरणको १० सूत्र सार्वजनिक गरेका छन् । उनले विचार र कार्यक्रम प्रस्तुत गर्दै त्यसलाई लागू गर्न नेतृत्व परिवर्तनमात्र नभई अभियान नै चलाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस र नेपाली समाजको लोकतान्त्रिकण गर्दै नेपाली संस्कृति, संस्कार र नेपालको भविष्यको पुनः संरचनाका लागि १० सूत्र अघि सारेका छन् ।

पौडेलका १० सूत्र यसप्रकार छन्ः

१.वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौँ ।

२.काँग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौँ ।

३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५.आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘प्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६.निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील काँग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी काँग्रेसको निश्चल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

८. सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९.नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली काँग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं । विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।-तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्