Logo

भीम रावल ब्याक होलान् ?



काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतबाट पुनः अध्यक्ष बन्ने प्रयासमा छन् । त्यसका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन खोजेका छन् ।

रावललाई वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पद दिएर मनाउने ओलीको प्रयास रहेको बुझिएको छ । तर, ओली रावललाई फेरि उपाध्यक्षमा सिमित राख्न खोजिरहेका छन् । केही निकटस्थले रावललाई वरिष्ठ उपाध्यक्ष दिएर मनाउन सुझाव पनि दिएका छन् ।

तर, वरिष्ठ उपाध्यक्ष पाएमा रावल ब्याक होलान् ? चासोको विषय बनेको छ । रावल एमालेभित्र ओलीइतर समूहको नेतृत्व गर्न खोजिरहेका छन् । असन्तुष्टहरुलाई समेट्न खोजिरहेका छन् । यो मौका नदिन ओलीले फरक रणनीति अपनाएका छन् ।

ओलीले कुनै पनि पदमा चुनाव नगर्ने रणनीति बनाइसके । महाधिवेशन प्रतिनिधिले पदाधिकारी देखि केन्द्रीय सदस्य समेत चयन गर्न ओलीलाई सर्वाधिकार दिएको छ । यो भनेको चुनाव नगर्ने हो । चुनाव हुँदा असन्तुष्टहरुले साथ छाड्नसक्ने भएर ओलीले यो उपाय अपनाएका हुन् ।

पराजितहरु रावलको समूहमा गई उक्त समूह बलियो बन्नसक्छ । यसप्रति ओली सजक देखिएका छन् ।

तर, चुनाव नै नहुने भएपछि रावललाई पनि चुनौती बनेको छ । उनी मागेको पद पाएमा ब्याक हुन पनि सक्छन् । राजनीतिमा असम्भव भन्ने हुँदैन । तर, अहिले रावल जसरी प्रस्तुत भएका छन् त्यसबाट पछि हट्ने सम्भावना कम छ । उनी अध्यक्षमा चुनाव लड्न चाहन्छन् । ब्याक हुने सम्भावना कम छ तर असम्भव छैन ।



प्रतिक्रिया दिनुहोस्