Logo

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध



काठमाडौं, मंसिर १३ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले आइतबार विदेशी नागरिक अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो । तर, कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीलाई भने प्रवेशमा रोक लगाइनेछैन ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागमन विभागसहित मातहतका निकायलाई अर्को निर्णय नहुँदासम्मका लागि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए ।

‘कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीबाहेक दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को निर्णय नहुँदासम्मका लागि अनअराइभल भिसा नदिनू भनिएको छ, स्थलमार्ग र हवाइमार्ग हुँदै आउने नागरिकमा पनि कडाइ गर्न भनेका छौं,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्