Logo

मध्य मंसिरमै जाडो बढ्यो



विरजञ्ज, मंसिर १३ । पर्सासहित मध्यपूर्वी तराईमा यसपालि मध्य मंसिरअघि नै चिसो बढेको छ । विगतका वर्षमा पुस लागेपछि मात्र बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व नै ह्वात्तै बढेको हो ।

जारी मंसिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहन थालेपछि पर्सासहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषि कार्य पनि प्रभावित भएको छ । बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् ।

मंसिरमै चिसो बढेपछि पुस र माघमा झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरू बढी प्रभावित भएका छन् । यसैबीच जिल्लाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घर–परिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् ।

घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् ।

यसबाहेक फोहोर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लास्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न पनि आग्रह गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्