Logo

हनुमानढोका दरबार संग्रहालयमा बढ्न थाले पर्यटक



काठमाडौं, मंसिर १३ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि संग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो ।

कोरोना जोखिम घट्दै गएर विद्यालयसमेत खुल्न थालेपछि संग्रहालय आउने आन्तरिक पर्यटकको संख्या दिनमै ३०० नाघ्न थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । विद्यालय खुलेकाले विद्यार्थी समूहमै संग्रहालयमा अवलोकनका लागि आउन थालेका छन् ।

कोरोनापछि उपत्यका बाहिरबाट भने अझै आन्तरिक पर्यटक नआएको उनले बताए । उपत्यका बाहिरबाट पनि आउन थालेपछि आन्तरिक पर्यटक नै दिनमा ५०० भन्दा बढी पुग्नेछ । कार्यालयले संग्रहालयभित्र ग्यालरीमा घुम्न आउने अवलोकनकर्ताका लागि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र प्रवेश गराउने गरेको छ । प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँठाउँमा स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ ।

संग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । सो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए । कात्तिक महिनामा ६ हजार ४०० स्वदेशी पर्यटक र ३४३ विदेशी पर्यटक आएको कार्यालयले बताएको छ । विदेश पर्यटकतर्फ अमेरिकाका धेरै आएका छन् । कम आउनेमा चीनका पर्यटक रहेको अड्डाले बताएको छ ।

संग्रहालय प्रवेशका लागि स्वदेशीलाई ३०, विद्यार्थीका लागि शुक्रवार १५ र विदेशीका लागि ३०० शुल्क लिइन्छ । विदेशीका लागि गत असोजदेखि मात्र हनुमानढोका दरबार हेरचाह अड्डाले शुल्क लिन थालेको हो । हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकका लागि काठमाडौं महानगरपालिकाले एक हजार शुल्क लिने गरेको छ ।

महानगरले २०६८ देखि शुल्क लिन थालेको हो । त्यसअघि अड्डाले लिने गरेको थियो । महानगरले उठाएको विदेशीको शुल्कबाट हनुमानढोका दरबार हेरचाह अड्डालाई २५ प्रतिशत दिने गरेको थियो । कोरोना महामारीपछि दरबार क्षेत्र प्रवेश गरेका पर्यटकको शुल्क महानगरले नदिएपछि कार्यालयले आफै ३०० को टिकट काट्न थालेको संग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए ।.



प्रतिक्रिया दिनुहोस्