Logo

उपत्यकाभित्र प्रकाशमान सिंह झन् मजबुत, आधाभन्दा बढी प्रतिनिधि पक्षमा



काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसमा जिल्ला अधिवेशनहरु सकिनै लाग्दा प्रभावशाली नेताहरुले आफ्नो क्षेत्रमा पकड बलियो बनाउन विशेष ध्यान दिए । उनीहरुले गृहक्षेत्रमा पकड देखाएर सभापतिमा जित्नसक्ने सन्देश दिन खोजे ।

सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम, वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश, महामन्त्री डा. सशांक कोइरालाले प्रदेश १ का अलावा लुम्बिनी प्रदेश, डा. शेखर कोइराला र सुजाता कोइरालाले प्रदेश १, पूर्व महामन्त्री प्रकाशमान सिंहले उपत्यकासहित बागमती प्रदेश, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा पकड बलियो बनाउन बढी ध्यान खिचे ।

सभापतिका दाबेदार प्रकाशमान सिंहले उपत्यकामा आफूलाई मजबुत बनाउन बढी शक्ति लगाए । जसमा उनी सफल पनि भएका छन् ।

उपत्यकाको तीन जिल्लामध्ये काठमाडौं र ललितपुरमा सिंहनिकट पार्टी सभापति निर्वाचित भएका छन् । काठमाडौंमा सबुज बाँनिया दोहोरिएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे । काठमाडौंका १० निर्वाचन क्षेत्रबाट चयन भएका २५० प्रतिनिधिमध्ये आधाभन्दा बढी सिंह निकट छन् ।

ललितपुरमा पनि सिंहनिकट जितेन्द्र श्रेष्ठ १२ मतले प्रतिद्वन्द्वीलाई पराजित गर्न सफल भए । श्रेष्ठले सिंह गुट छाडेका रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् । ललितपुरमा पनि सिंहनिकट महाधिवेशन प्रतिनिधि उल्लेख्य संख्यामा निर्वाचित भएका छन् ।

भक्तपुरमा पनि सिंहले पकड विगतमा भन्दा मजबुत बनाए । त्यहाँ देउवा समूह बलियो भएपनि सिंहले विगतभन्दा शक्ति बढाएका हुन् ।

उपत्यकाका तीनजिल्लाका १५ क्षेत्रमा ३७५ प्रतिनिधिमध्ये २ सय जति सिंह निकट निर्वाचित भएका छन् ।

यसैगरी, उपत्यका आसपासका धादिङ, मकवानपुर, नुवाकोट जस्ता जिल्लाहरुमा सिंहनिकट महाधिवेशन प्रतिनिधिहरु विगतमा भन्दा बढी संख्यामा जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्