Logo

उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त



१३ मङ्सिर : उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो । यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो ।

दश लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महसूस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ ।

भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन । पेरुमा सन् २००७ अगस्त १५ मा गएको ७.९ म्याग्नीच्युडको कारण ५ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्