Logo

मेडिकल काउन्सिल निर्वाचनको मतगणना जारी, उपाध्यक्षमा पौडेलको अग्रता



काठमाडौं, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलको केही दिन अगाडी सम्पन्न भएको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार उपाध्यक्षका ३ प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८ सय ९४ मतका साथ अगाडी रहेका छन् ।

त्यस्तै, अर्का प्रतिस्पर्धी डा.प्रमोदकुमार यादवले १८ सय २० र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५ सय ९२ मत ल्याएका छन् ।
त्यस्तै, सदस्यमा सुरुवातदेखि अग्रता लिएका डा.हुलास अग्रवालले ३५ सय २० मत ल्याएका छन् ।

नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको थियो । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । सबैभन्दा धेरै चितवनमा खसेको छ भने सबैभन्दा कम मत जुम्लामा खसेको थियो ।

१ उपाध्यक्ष र ८ सदस्यको लागि ३५ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । त्यस्तै, उपाध्यक्षको लागि ३ र ८ सदस्यको लागि ३२ जनाको उम्मेदवारी परेको थियो ।

कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनकपुर,नारायणी अस्पताल, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मतदान भएको थियो । त्यस्तै, शनिबार मेची प्रादेशीक अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल लगायतका १२ मतदान केन्द्रमा मतदान भएको थियो ।



प्रतिक्रिया दिनुहोस्