Logo

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन



काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए ।

यसअघि प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणाको साथ छ । राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाका पाका नेताहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी नदिने भएका छन् । राणा र लोहनीको भूमिका कस्तो रहने हो चासो बनेको छ । दुवै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्नेमा सकारात्मक रहेको बुझिएको छ । यसकारण थापालाई लिङ्देन ठूलो चुनौती बन्न सक्छन् ।

आज थापाले उम्मेदवारी घोषणा गर्दा राप्रपा फुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले राप्रपा कुनै हालतमा फुट्न नदिने कसम समेत खाइसकेका छन् ।
राप्रपाको महाधिवेशन १५ मंसिरबाट हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्