Logo

देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार



काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य हुने नामहरु अगाडि सारेको बुझिएको छ ।

पौडेलले आन्तरिक बैठकमा यसपटक आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरेका थिए । तर, कोइराला परिवारका डा. सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाका अलावा पूर्वमहामन्त्री प्रकाशमान सिंह तयार भएनन् । उनले एकपटक आफ्नो नाममा सहमति खोज्न प्रयास गर्ने नभए तीन नेताबाट सहमति बनाउन आग्रह गर्ने बुझिएको छ ।

सहमतिको साझा उम्मेदवार एक हप्ताभित्र तय गर्ने गरी पौडेलले सक्रियता बढाएका छन् । उनी आफै त्याग गर्न तयार भएको बुझिएको छ । तर, नेता सिंह र कोइरालाद्वय तयार छैनन् । सुजाता कोइराला पनि देश र पार्टीका लागि त्याग गर्न तयार भएको बुझिएको छ । उनले निकटस्थसँग जित्ने उम्मेदवारलाई सबै मिलेर साथ दिनुपर्ने भन्दै छिटो टुंगो लगाउन जोडबल गरिरहेकी छिन् । सुजाताले पावर सेयरिङ गरेर बढ्नुको विकल्प नभएको भन्दै पौडेलसँग पनि छलफल बढाएको बुझिएको छ ।

पौडेलले सुरुमा कोइराला परिवारलाई सहमति बनाउन आग्रह गरेको बुझिएको छ । त्यो नसके कि आफूलाई गर्न कि अर्को व्यक्तिमा सहमति खोज्ने प्रस्ताव समेत राखेका छन् । तर, कोइराला परिवारभित्रै सहमति बन्न सकेको छैन ।

कोइराला परिवारभित्र साझा उम्मेदवारको सवालमा सकारात्मक जवाफ आएको तर कुरा अझै मिल्न सकेको छैन । अब देशभरको प्रतिनिधिमा कस्को कति संख्याका समर्थन आएका छन् । संस्थापन इतर समूहको शक्ति कति छ लेखाजोखा गरी अगाडि बढ्ने तयारी भएको स्रोतले बतायो ।

पौडेलले आन्तरिक छलफलमा आफू सबैलाई मिलाएर लाने पक्षमा रहेकोले काँग्रेसको भविष्यका लागि पनि त्यागको विषय उठाएका छन् । गणेशमान सिंहले प्रधानमन्त्री त्यागेको इतिहास रहेको उल्लेख गर्दै देश र काँग्रेसको भविष्यका लागि आफ्नो पक्षका सबैलाई केही न केही त्याग देखाउन भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्