Logo

कमल थापा टाईम–टेष्ट भैसक्नुभयो, अहिले राजेन्द्र लिङ्देनको ग्राफ माथि उठ्दैछ : राणा



‘कमल थापाले अर्काको पार्टी र अरु नेतालाई उत्कृष्ट भनिदिँदा हामी निराशा छौं’
‘कमल थापालाई जनताले पछ्याउने अवस्था छैन्, उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास छैन्’

काठमाडौं, १३ मंसिर । राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले लिएको एजेण्डा सही हुँदाहुँदैपनि नेतृत्व सही नभएकोले आफूहरुले यसपटकको एकता महाधिवेशनमा युवा नेतृत्व ल्याउन लागेको बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राणाले पार्टीले सही एजेण्डा बोक्दाबोक्दैपनि आज उचित राजनीतिक स्थान नपाएको अवस्था सुनाए । उनले भने,‘हाम्रो पार्टीले पटक–पटक फुट र जुटको ईतिहास बोकेको छ । अहिले पुस्ता हस्तान्तरण एउटा सकारात्मक स्थिति र यथार्थमा परिणत हुन लागेको छ। देशभरिका कार्यकर्ताहरुले कमल थापाबाट पार्टी अघि बढ्न सकेन भनेर नेतृत्व परिणत गर्न खोजेको हो । त्यही भएर हामी नेतृत्वमा आउन लागेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीको एजेण्डालाई जस्ताको त्यस्तै राखेर पार्टी सञ्चालन गर्ने शैलीलाई आमूत परिवर्तन गर्नुपर्ने भएकोले आफूहरु नेतृत्वको लागि मैदानमा आएको स्पष्ट पारे । उनले भने–‘यो पार्टी कार्यकर्ता र जनताको भन्दापनि नेताको पार्टी भएको छ । बहुमतको निर्णय र अल्पमतलाई भनाईलाई सम्मान गर्नुपर्छ । अब वान म्यान, वान पोष्ट लागु गर्नुपर्छ । दुई कार्यकालभन्दा बढि हुन नपाउने, आर्थिक पारदर्शीता कायम गर्नुपर्छ । यी एजेण्डा बोकेर अहिले युवा पुस्ता अघि बढेको छ । हाम्रो पार्टीले लिएको माटो सुहाउँदो एजेण्डा आझेलमा परेको छ । अब हाम्रो पार्टी न्यू बिगिनिङ सुरु हुँदैछ ।’

उनले पार्टी अघि बढाउनको लागि आफूहरुले सही नीति र योजना लिएको र त्यसलाई लागु गर्ने सुनाए । उनले भने,‘हामी सबैलाई समेटेर अघि बढ्छौं । हिन्दूवादी, राजावादी, सामाजिक अभियन्ताहरु, भ्रष्टाचारविरोधी, राष्ट्रियता पक्षधर एक ढप्पा राखेर अघि बढ्नुपर्छ । कांग्रेस र कम्युनिष्टको जरा उखाल्नेछौं । हामी प्रजातान्त्रिक माध्यमबाट खासगरी हाम्रो मूल्य र मान्यताबाट अघि बढेका छौं ।’

उनले आफूले महामन्त्री जित्ने आधार स्पष्ट रहेको सुनाए । उनले आगामी निर्वाचनमा राप्रपालाई देशको पहिलो शक्ति बनाउनेगरि अघि बढिरहेको पनि सुनाए । उनले भने,‘राप्रपा पूरानो पार्टी हो । तर, अहिले यो राष्ट्रिय पार्टी हुन सकेको छैन् । हिजो हामीसँग ३७ सिट थियो । तर, जनताको अभिमत अनुसार काम गर्न नसक्दा जनताले दण्डित गरेर अहिले १ सिटमा झ्यौं । त्यो भन्दा तल जाने ठाउँ छैन् । पार्टी ड्रप भएर बटममा गैसक्यो । अब योभन्दा तल जाने ठाउँ नै छैन् । हाम्रो एजेण्डा अल्पमतमा परेको छ । यो पार्टीको लागि अन्तिम समय हो । पार्टी चलाउने कार्यशैली सुधार गर्नुपर्छ, अब प्रजातान्त्रिक पद्धतीअनुसार चलाउनुपर्छ । यो पार्टीको लागि अन्तिम चान्स हो । होईन भने गोरखा परिषदजस्तै विलाउने सम्भावना छ । अहिले सकारात्मक परिस्थिति छ ।’

उनले नेपालमा संघीयता, गणतन्त्र र अहिलेको व्यवस्था नै असफल भैसकेको बताए । उनले भने,‘अहिले जताततै व्यापक भ्रष्टाचार भैरहेको छ । यो अवस्थामा एउटा दरिलो पार्टी र विश्वासिलो नेतृत्व राष्ट्रले खोजिरहेको छ । त्यो हामी दिन सक्छौं । कार्यकर्ताले हामीलाई विश्वास गरेर विजयी गराउनेछन् ।’

उनले आफ्नो पार्टीको ईतिहास राम्रो नभएको सुनाए । उनले भने,‘हाम्रा अहिलेका अध्यक्षहरु तीनै जना नेताले पार्टी फुटाउँदैनौं भनेर गीता छोएर कसम खाएका छन् । हाम्रा अग्रजहरु उत्कृष्ट छन् । नेता भन्न सुहाउँदो छन् । अब उहाँहरु अभिभावकीय भूमिका राख्ने हो । पार्टी फुट्दैन् । नेतृत्व पँक्तिलाई हामीले अभिभावकीय भूमिका खेलिदिनुहोस भनेका थियौं । पार्टी तपाईँबाट चलेन भनेर हामीले भन्यौं । मान्नुहुन्न भने प्रजातिन्त्रक प्रणालीअनुसार मैदानमा आउनुहोस, हामी प्रतिष्पर्धा गर्न तयार छौं ।’

उनले अध्यक्ष कमल थापा आफ्नो आदरणीय नेता भएको सुनाए । तर, थापा परीक्षण भैसकेकाले अब नेतृत्वमा दोहोर्याउन नहुने उनको भनाई छ । थापाले भने,‘उहाँ टाईम टेष्ट भैसक्नुभयो । राप्रपा नेपालको ग्राफ राम्रो हुँदा उहाँको पनि राम्रो थियो । तर, अहिले उहाँको ग्राफ राम्रो छैन् । अहिले राजेन्द्र लिङ्देनको ग्राफ माथि उठ्दैछ । उहाँ लोकप्रिय सांसदको रुपमा परिचित हुनुहुन्छ, लिम्बुको छोराले हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र बोकेर हिँड्नुभएको छ, यसमा हामीले गर्व गर्छौं । कमल थापालाई जनताले पछ्याउने अवस्था छैन् । उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास छैन् । आजको दिनको लागि नेतृत्व परिवर्तन र शैली परिवर्तन बाध्यता छ । एउटा मजुबद र दरो पार्टी अनि विश्वासिलो नेतृत्व जनताको लागि खाँचो छ । त्यो हामी दिन सक्छौं ।’

उनले आफ्नो पार्टी र एमालेको एजेण्डा नै फरक रहेको पनि सुनाए । उनले भने,‘अहिले हाम्रो एजेण्डालाई विस्थापित गरेर गणतन्त्रवादीहरुले सत्ता चलाईरहेका छन् । हाम्रो पार्टीका एजेण्डा उत्कृष्ट छन् । अहिले पनि हाम्रा नेताहरु ग्राउण्डमा राम्रा छन् । हाम्रो नेताले अर्काको पार्टी र अरु नेतालाई उत्कृष्ट भनिदिँदा हामी निराशा छौं ।’ राणाले एमाले महाधिवेशनमा पुगेर अध्यक्ष थापाले केपी शर्मा ओलीको बारेमा गरेको प्रशंसाबारे यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफूहरु अहिलेको संविधान परिवर्तन गर्ने पक्षमा रहेको सुनाए । र, यसको लागि प्रजातान्त्रिक विधि नै अपनाउने पनि उनको भनाई थियो । उनले भने,‘यो संविधान परिवर्तन गर्नुपर्छ । तर, गोली, बन्दुक चलाएर संविधान परिवर्तन गर्ने पक्षमा छैनौं । प्रजातिन्त्रक विधिबाट यो संविधान परिवर्तन गर्छौं । यो नै हाम्रो अभियान हो । हाम्रो मूल्य र मान्यतालाई सम्बोधन गर्नेगरि संविधान परिवर्तन गर्छौं ।’

 



प्रतिक्रिया दिनुहोस्