Logo

चाइना एभरग्राण्डको सेयरमा गिरावट



एजेन्सी, १३ मंसिर । चाइना एभरग्राण्ड ग्रुपका अध्यक्षले करिब ३४ करोड ४० लाख अमेरिकी डलर उठाउन सो कम्पनीमा भएको आफ्नो सेयरको ठूलो हिस्सा बेचेपछि कम्पनीको सेयरमा सोमबार ४.८ प्रतिशतले गिरावट आएको छ ।

सो ग्रुपको लगानी रहेको चाइना एभरग्राण्ड न्यू इनर्जी भेइकल ग्रुप लिमिटेडको सेयरमा पनि ५ प्रतिशत गिरावट आएको छ । एभरग्राण्ड ग्रुपले सो कम्पनीमा पूँजी भित्राउन विभिन्न लगानीकर्ताहरुसँग उपायको खोजी गरिरहेको बताएसँगै कम्पनीको सेयरमा गिरावट आएको हो ।

३० करोड डलर भन्दा बढी ऋणभारका कारण एभरग्राण्ड ग्रुपलाई आफ्ना कम्पनीहरुको पूँजी वृद्धि गर्न हम्मेहम्मे परिरहेको छ । स्रोतका अनुसार सो ग्रुपका अधिकारीहरुले अध्यक्ष हुइ का यानलाई लगानीकर्ताहरुलाई तिर्न आफ्नो व्यक्तिगत सम्पत्तिको केही हिस्सा प्रयोग गर्न सुझाएका थिए ।

एभरग्राण्डले गत नोभेम्बर ६ मा ८ करोड २५ लाख डलर बराबरको ब्याज रकम तिर्नै सकेन । लगानीकर्ताहरु सो कम्पनीले म्याद सकिन भन्दा ३० दिन अघिसम्म तिर्छ वा तिर्दैन भन्नेबारे अन्योलमा छन् ।

अध्यक्ष हुइले १.२ बिलियन सेयर औसत २.२३ हङकङ डलरमा बेचेको जानकारी कम्पनीले शुक्रबार मात्रै दिएको थियो । यो सँगै हुइको सो कम्पनीमा रहेको सेयर हिस्सा ७७ बाट ६७.९ प्रतिशतमा झरेको छ ।

बिगत केही महिना यता एभरग्राण्डमा आएको गिरावटले चिनियाँ प्रोपर्टी क्षेत्रमा असर पुगेको छ । फेन्टेसिया होल्डिङले सोमबार सो कम्पनीको सेयर ट्रडिङ रोक्का गरेको छ ।



प्रतिक्रिया दिनुहोस्