Logo

चीनको ऋणको शिकार बन्यो युगान्डा, विमानस्थल नै कब्जामा जाने



एजेन्सी, १३ मंसिर । धनी देशको ऋणले गरिब देशलाई कति पिरोल्छ भन्ने उदाहरण युगान्डा बनेको छ । अफ्रिकी मुलुक युगान्डा यतिबेला चीनको ऋणको शिकार बनेको छ । उसले ऋण तिर्न नसक्दा आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमाथिको नियन्त्रण नै गुमाउन लागेको छ ।

युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिने भएको हो । ६ वर्ष अघि विमानस्थल विस्तारका लागि चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट २० करोड ७० लाख डलर ऋण लिएको थियो । सन् २०१५ मा लिएको ऋण युगान्डा तिर्न नसक्ने अवस्थामा रहेको छ ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि ऋण लिएको थियो ।

सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले विमानस्थल आफ्नो कब्जामा लिने भएको स्थानिय मिडियालाई उदृत गर्दै अन्र्तराष्ट्रिय मिडियाले खबर प्रकाशित गरेका छन् ।

चीनसँग सो सम्झौतामा पुनवार्ता गर्न गत मार्चमा राष्ट्रपति मुसेभेनीले पत्र पठाएकोसमेत उल्लेख गरिएको छ । तर सो प्रस्ताव स्वीकार नभएको जनाइएको छ । तोकिएको मितिमा ऋण तिर्न नसकेपछि युगान्डा समस्यामा परेको छ । चीनले निश्चित समय तोकेर कतिपय देशहरुलाई ऋण दिदै आएको छ । तर, तिर्न नसकेपछि त्यस्ता देशहरु समस्यामा पर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्