Logo

देउवालाई नै पार्टी सभापतिमा चयन गर्न सक्यौं भने काँग्रेस र सरकारले सफलता प्राप्त गर्न सक्छ भन्ने हाम्रो विश्लेषण छ : गृहमन्त्री खाँण (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले गति लिएको स्पष्ट पारेका छन् । वर्तमान सभापति देउवाले १४औं महाधिवेशनमा सभापतिमा नै उम्मेद्धवारी दिने पनि उनले स्पष्ट पारे । देउवा सभापति भएपछि पार्टीमा कहिल्यैपनि शक्तिको दुरुपयोग नगरेको बरु सबैलाई मिलाएर नै लैजान खोजेको पनि खाँणको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कुराकानीको क्रममा भने–‘उहाँले कहिल्यैपनि बहुमतको दुरुपयोग गर्नुभएको छैन् । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यसमा केही मतभेदहरु हुनसक्छन् तथापि त्यो अस्तित्वलाई पनि स्विकार गर्नसक्नुपर्छ भनेर सह–अस्तित्व, समन्वय र एकतामा जोड दिने नेतामा शेरबहादुर देउवा अब्बल हुनुहुन्छ । त्यस कुरामा हामीले द्धिविधा राख्नुपर्दैन् ।’ प्रस्तुत छ नेता खाँणसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसलाई महाधिवेशन लागेको छ, जिल्लामा शेरबहादुर देउवाले बाजी मार्नुभयो कि रामचन्द्र पौडेलले ?

अब अहिलेको अवस्थमा नेपाली काँग्रेसको महाधिवेशन गर्नु पार्टीका सबै नेता÷कार्यकर्ताको दायित्व हो । त्यही दायित्वमा हामी लागिरहेका छौं । नेपाली काँग्रेसले देशभर झण्डै १० लाख क्रियाशिल सदस्यता वितरण गरेको छ । त्यी १० लाख क्रियाशिल सदस्यहरुले नेपाली काँग्रेसको विधानको व्यवस्था अनुसार आ–आफ्ना प्रतिनिधिहरुको छनोट गर्नुभएको छ । प्रतिनिधिहरुले पालिका, क्षेत्र, जिल्ला, प्रदेशका प्रतिनिधिहरुको चयन गर्दै हुनुहुन्छ । केही ठाउँमा सकिसकेको अवस्था रहेको छ भने केहि ठाउँमा निर्वाचन प्रक्रिया अगाडी बढिरहेको छ र सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त रहेका छौं ।

उसोभए अब नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ ?

हो, अब नेपाली काँग्रेसको महाधिवेशन घोषित मितिमै हुन्छ । त्यसको व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी लागिरहेका छौं ।
शेरबहादुर देउवा देशको प्रधानमन्त्री र पार्टी सभापति पनि हुनुहुन्छ, फेरी पनि उहाँले सभापतिको उम्मेद्वारी दिने कुरा छ, त्यसो गर्नु आवश्यक छ र ?
उहाँ नेपाली काँग्रेसको खारिएको नेता हो । सबैलाई समेटेर जानसक्ने उहाँको क्षमता छ । शेरबहादुर देउवा अन्य राजनीतिक दलहरुसँग पनि समन्वय गर्नसक्ने क्षमता भएको एउटा नेता हो । नेपाली काँग्रेसमा अन्य नेताहरु पनि स्थापित हुनुहुन्छ । रामचन्द्र दाई पनि अत्यन्तै त्यागी, बलिदानी र योग्य नेता हुनुहुन्छ । त्यसमा दुईमत छैन् तर, नेपाली काँग्रेसभित्र सभापति एक जना व्यक्ति र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा नेपाली काँग्रेसभित्र द्वन्द्व बढेको र त्यसपछि भएको निर्वाचनमा पार्टीले चाहेकोजस्तो परीणाम ल्याउन सकेको छैन् । २०४६ सालपछि आदरणीय सन्त नेता किसुनजी पार्टीको कार्यवाहक सभापति हुनुहुन्थ्यो र मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले आफ्नो छोटो कार्यकालमा नेपालको संविधान निर्माण गर्नुभयो र पहिलो आम निर्वाचन पनि सम्पन्न गर्नुभयो । तर, उहाँले निर्वाचन पछि बानेश्वरको १ नम्बर क्षेत्र जस्तो जागरुक ठाउँबाट पनि प्रतिनिधिसभामा पराजय भोग्न परेको थियो । त्यसपछि उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन र पार्टीका अर्का ज्यादै नै गतिशिल नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । किसुनजी सभापति बन्नुभयो । तथापि उहाँहरु दुईजनाको बीचमा मेल हुन दिईएन । र, शक्ति संघर्षको कारणले गर्दा ५ वर्षको लागि प्राप्त जनादेश सरकारले पुरा गर्न सकेन । त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पहिलो स्थानबाट नेपाली काँग्रेस प्रतिपक्षमा पुगेको थियो । त्यसकारणले अहिले विशेष कारणले संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ र आउने महाधिवेशन उहाँलाई नै सभापति बनायो भने गठबन्धनको सरकारले स्थानीय सरकारको निर्वाचन पनि सम्पन्न गर्नेछ साथै, आम निर्वाचन पनि सम्पन्न गर्नेछ । संविधानको रक्षा गर्ने, जनताको मौलिक अधिकारलाई स्थापित गर्ने, प्रेस स्वतन्त्रताको रक्षा गर्नेलगायतका नागरिक अधिकारलाई स्थापित गर्न सकिन्छ । त्यसकारण नेपाली काँग्रेसमा एकैपटक दुईवटा शक्तिकेन्द्र स्थापित गर्यौं भने शक्तिकेन्द्रको द्वन्द्व र टकराबले परीणाम नेपाली काँग्रेसकै विपक्षमा आउँछ । त्यसैले इतिहासको विवेचना गर्दा यसपटकको १४औं महाधिवेशनमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टी सभापतिमा चयन गर्न सक्यौं भने नेपाली काँग्रेसभित्र र सरकारले पनि सफलता प्राप्त गर्न सक्छौं भन्ने हाम्रो विश्लेषण छ ।

नेपाली काँग्रेसमा नयाँ पुस्ताले हस्तक्षेप गर्ने समय अझै भएको छैन् ?

नेपाली काँग्रेसमा अहिले युवा पुस्ता पनि छ । म उहाँहरुलाई सम्मान गर्न चाहन्छु । जनतालाई भरोसा दिलाउने र मुलुक बनाउने दायित्व युवा पुस्तामा रहेको छ र त्यो पुस्ताले आफ्नो ऐतिहासिक भूमिका र दायित्व निर्वाह गर्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ । तर, अहिलेको जुन विषम परिस्थिति रहेको छ । यो अवस्थामा मुलुकलाई निकास दिनुपर्ने आवश्यकत्ता रहेको छ । पछिल्लोपटक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली असफल भइसकेपछि वैकल्पिक शक्ति निर्माण गर्ने क्रममा सभापति देउवालाई तपाईं प्रधानमन्त्री हुन तयार हुनुहोस भनेर हामीले धेरैपटक भनेका थियौं तर, उहाँले हतार गर्नुहुँदैन भनेर उहाँले धैर्यता साथ आफुलाई प्रस्तुत गर्नुभएको थियो । अन्त्यमा सबैको आग्रहपछि मात्र उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । त्यसैले नेपाली काँग्रेसलाई सत्ताको लागि हतारो गर्छ भन्ने जुन आरोप रहेको छ, त्यसलाई उहाँले चिर्नुभएको छ । त्यसैले अहिलेको अवस्थामा शेरबहादुर देउवालाई अन्य पार्टीका नेताहरुले पनि स्विकार गर्नुभएको छ । तर, पार्टीको सभापति बदलियो भने अन्य पार्टीको धारण के रहन्छ भन्ने कुरा हुन्छ । उनीहरुले हाम्रो नेतृत्वको सरकारलाई स्विकार गर्छन् अथवा गर्दैनन् ? उनीहरुले सहजता र विश्वासका साथ लिन्छन् अथवा लिँदैनन् भन्ने कुरा पनि रहन्छ । त्यसकारण नेपाली काँग्रेसलाई सवल बनाउने सबैको दायित्व हो । उहाँ अहिलेसम्म सल्लाह र सहमति गरेरै अगाडि बढिरहनुभएको छ त्यसैक्रममा कतिपय कामहरु ढिला भएका छन्, प्रभावकारी रुपमा भएका छैनन् त्यो कुरा यथार्थ हो ।

तर, शेरबहादुर देउवा असफल सभापति हुनुभयो भन्ने आरोप छ नि रामचन्द्र पौडेलको ?

अहिलेको अवस्थामा नेपाली काँग्रेसलाई एक ढिक्का राख्नुपनि ऐतिहासिक दायित्व हो । उहाँको पालामा कामहरु केही सुस्त भए होलान, केही कामहरु प्रभावकारी भएनन् होलान । केही कुराहरु सुधार्नुपर्ने छ । तर, उहाँले आफ्नो सभापतिय शक्ति र बहुमतलाई कहिलेपनि प्रयोग गर्नुभएन् । उहाँले जहिलेपनि पार्टीका शीर्ष नेताहरुसँग सहकार्य गर्नुभयो । अहिले देशमा पार्टीहरु फुटिरहेका छन् तर, नेपाली काँग्रेसमा एकता स्थापित गरेको उहाँलाई हामीले धन्यवाद दिनैपर्छ ।

तर, शेरबहादुर देउवाले समयमा महाधिवेशन गर्न सक्नुभएन, नेपाली काँग्रेसमा धेरै गुटहरु भए, संगठनलाई लथालिङ्ग बनाउनुभयो, नेपाली काँग्रेस गुटको कारणले गर्दा कमजोर भएको कुरा त सत्य हो नि, होइन् ?

होइन्, उहाँले कहिल्यैपनि बहुमतको दुरुपयोग गर्नुभएको छैन् । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यसमा केही मतभेदहरु हुनसक्छन् तथापि त्यो अस्तित्वलाई पनि स्विकार गर्नसक्नुपर्छ भनेर सह–अस्तित्व, समन्वय र एकतामा जोड दिने नेतामा शेरबहादुर देउवा अब्बल हुनुहुन्छ । त्यस कुरामा हामीले द्धिविधा राख्नुपर्दैन् ।

त्यसोभए शेरबहादुर देउवाले यसपटक पनि सभापतिमा उम्मेद्वारी दिनुहुन्छ ?

उहाँले सभातिको उम्मेद्वारी दिनुहुन्छ र पार्टीका अधिकांश महाधिवेशन प्रतिनिधिहरुले उहाँलाई साथ दिनुहुन्छ भन्ने विश्वास रहेको छ । उहाँ फेरी पनि सभापति भएर पहिलो कार्यकालमा भएका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्नुहुन्छ भन्ने हामीलाई भरोसा छ । त्यसैगरी उहाँकै कार्यकालमा आगागी निर्वाचनमा नेपाली काँग्रेसले धैरै राम्रो परीणाम ल्याउँछ भन्ने हामीलाई विश्वास छ ।

तर, नेपाली काँग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता नेताहरु अविभावकको भूमिकामा बस्नुपर्छ भन्ने मत बलियो देखिएको छ, यस विषयमा तपाईको धारणा के छ ?

शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेपाली काँग्रेसका विपी कोइराला, सुबर्ण शमसेर, गणेशमानजी, किसुनजी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुसँग नजिक बसेर बलिदानी राजनीति गर्नुभएको हो । उहाँहरुले आफ्नो युवा कालमा पार्टीको लागि धेरै पसिना बगाउनुभएको छ । त्यसकारण म उहाँहरुलाई सम्मान गर्न चाहन्छु । उहाँहरुले अगाडि बढाएको नेपाली काँग्रेस एउटा जीवन्त पार्टी र जनताको सबैभन्दा बढि भरोषा र विश्वासको पार्टी भएको छ । त्यसकारणले उहाँहरुलाई सम्मान पनि गरौं र तत्काल पार्टीबाट बिदा गर्ने नारा लगायौं भने त्यो नारा नेपाली काँग्रेस र मुलुककै लागि पनि घातक हुनसक्छ ।

उसोभए नेपाली काँग्रेसमा युवाहरु चुप लागेर बसिराख्ने ? तपाईंले आगामी महाधिवेशनमा उम्मेद्वारी नदिने ?

हामी उहाँहरुसगँ साथमै छौं नि । केन्द्रीय कार्यसमतिमा हामी साथमै छौं । नेपाली काँग्रेसका जननेता नेता विपी कोइराला, सुवर्ण शमसेर, गणेशमानजी, सन्त नेता किसुनजी, गिरिजाप्रसाद कोइराला जसले नेपाली काँग्रेसको केन्द्रीय समितिमा रहेर पार्टीलाई सबल, सुढृद र ऐतिहाँसिक पार्टी बनाउन सफलता प्राप्त गर्नुभयो । त्यो पार्टीको केन्द्रीय समितिमा झण्डै २२ वर्षदेखि छु । म त्यसमा गर्व गर्दछु की म नेपाली काँग्रेसको एउटा सिपाही हुँ ।

त्यसोभए तपाईंले कुन पदमा उम्मेद्वारी दिनुहुन्छ ?

त्यो कुरामा म आदरणीय सभापति, वरिष्ठ नेताहरु, अन्य नेता/कार्यकर्ताहरु सबैसँग सल्लाह गरेर मैले आफुलाई प्रस्तुत गर्नेछु । त्यसैले नेपाली काँग्रेसभित्र अहिले व्यक्ति महत्वपूर्ण कुरा होइन् । नेपाली काँग्रेसभित्र अहिले पद्धति र संस्था ठुलो कुरा हो । त्यसैले नेपाली काँग्रेसलाई बलियो बनाउने दायित्व हाम्रो हो, त्यो दायित्व पुरा गर्ने क्रममा जुनसुकै बलिदानी दिनपनि म तयार छु ।

बिमलेन्द्र निधीले सभापतिमा उम्मेद्वारी घोषणा गर्नुएको छ, गोपालमान श्रेष्ठ पनि म सभापतिमा उठ्छु भन्नुहुन्छ । शेरबहादुर देउवाले आफ्नै गुटको समेत व्यवस्थापन गर्न सक्नुभएन नि ?

शेरबहादुर देउवाका लागि गुट प्राथमिकता होइन् । उहाँलाई नेपाली काँग्रेस पार्टी प्राथमिकता हो । मुलुक, राष्ट्रियता र राष्ट्र पहिलो कुरा हो । जनताका अधिकारहरु प्राथमिकता हुन् । तथापी उहाँसँग वैचारिक रूपमा हामी जति जना उभिएका छौं । उहाँको भूमिकाप्रति हामी सकारात्मक रहेका छौं । उहाँको भूमिकालाई स्थापित गर्नमै हामी लागिरहेका छौं । म सबै नेताहरुलाई सम्मान गर्न चाहन्छु । उहाँहरुले नेपाली काँग्रेसको अहिलेको चुनौतीलाई गम्भीरताका साथ लिनुहुनेछ र हामी सबै मिलेरै अगाडि बढ्ने अवस्था बन्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

रामचन्द्र पौडेलको समूहले साझा उम्मेद्वारी दिँदा तपाईंहरुलाई जित्न गाह्रो छ भन्छन् बाहिर, तपाईँको बुझाई के हो ?

होइन्, कार्यकर्ताहरुले शेरबहादुर देउवाजीको नेतृत्वलाई सहजतापूर्वक लिएको अवस्था पनि छ । उहाँले नेपाली काँग्रेस पार्टीलाई अझै सशक्त रुपमा अगाडि बढाउनुहुनेछ भन्नेमा नेता÷कार्यकर्ता विश्वस्त हुनुहुन्छ ।

बिमलेन्द्र निधिले देउवाको साथ छोडेपछि तपाईहरुलाई गाह्रो पर्दैन् ?

नेपाली काँग्रेसमा १० लाख क्रियाशिल सदस्यहरु छन् । उनीहरुले चुनेका महाधिवेशन प्रतिनिधिहरु एउटा परिपक्व स्थिति पार गर्दै अगाडि बढ्नुभएको छ । उहाँहरु सबै पार्टी एकढिक्का होस भन्ने चाहनुहुन्छ ।

त्यसोभए पार्टीभित्र शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई साथमा लिन लाग्नुभएको हो ?

शेरबहादुर देउवा उदार हुनुहुन्छ, त्यसकारण उहाँले सहयोगको लागि रामचन्द्रज्युलाई पनि आग्रह गर्नुभएको छ । पार्टीका अन्य वरिष्ठ नेताहरुलाई पनि आग्रह गर्नुभएको छ । त्यसैगरी सिटौलाजीलाई पनि आग्रह गर्नुभएको छ । मुलुकले धेरै ठुला चुनौतीको सामना पनि गर्नुपर्ने छ । संविधानको रक्षा गर्नुपर्ने छ । त्यसैले आफुलाई साथ दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । मलाई लाग्छ–उहाँको आह्वानलाई साथीहरुले गम्भिरतापूर्वक लिनुहुनेछ ।

तर, उहाँले नेतृत्व छोडेर तपाईंहरुजस्तो युवा पुस्तालाई दिँदा राम्रो हुन्छ भन्ने जनताको मत छ नि, यसलाई कसरी लिनुभएको छ ?

होइन्, त्यो त नेतृत्व गर्ने पालो सबैको आउँछ । कहिले युवा पुस्ताले, कहिले परिपक्व पुस्ताले नेतृत्व गर्दछ । हामीले केही वर्ष अगाडि हेरेका थियौं, अमेरिकामा ४०–४२ वर्षका व्यक्ति राष्ट्रपति बन्नुभएको थियो । उहाँले आफ्नो दुई कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएको थियो । अहिले झण्डै ८० वर्ष पार गरिसक्नुभएका वाइडेन राष्ट्रपति हुनुहुन्छ । त्यसैले उमेरले नेतृत्वलाई झनै परिपक्व बनाउँछ । कसको उमेर कति भयो भन्दापनि कसले कसरी देशको नेतृत्व गर्छ भन्ने कुरा महत्वपूर्ण हो । को कसरी नेता÷कार्यकर्ताको भावनाअनुरुप अगाडी बढिरहेको छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । शेरबहादुर देउवाले अहिले विपी कोइरालाको उत्तराधिकारीको रुपमा नेपाली काँग्रेसलाई समावेशी पार्टी बनाउनुभएको छ । नेपाली काँग्रेसको विधान, केन्द्रिय समिती र पार्टीका सबै कार्यसमितिहरुमा सबै खालको अनुहारको प्रतिविम्व हुने खालको विधान उहाँले बनाउनुभएको छ । त्यसकारणले नेपाली काँग्रेस सबैको पार्टीको हो । दलितको पनि हो, मधेशको पनि हो, आदिवासी र जनजातिको पनि पार्टी हो, महिलाहरुको पार्टी हो भन्ने कुराको अनुभुति अहिलेका सभापति शेरबहादुर देउवाले विधानको माध्यमबाट बनाउनुभएको छ ।

तर, त्यो कुरा व्यवहारमा कार्यान्वयन भएन भन्छन् नि ?

होइन्, उहाँले सबैको विचारलाई समेटेर जाने क्रममा सबैको विचारलाई प्रतिविम्बित गरेको हो । उहाँले कसैलाई पनि निषेध गर्नुभएको छैन् । उहाँले पार्टीमा सबैको समावेशीता होस भनेर सोहीअनुरुपको विधान बनाउनुभएको छ । जसले नेपाली काँग्रेसलाई तागत दिएको छ, बल दिएको छ त्यो कुरालाई पनि महत्व दिनुपर्छ भन्ने म सबैलाई आग्रह गर्न चाहन्छु ।

तपाईंहरु नेतृत्वको लागि मात्र बहस गर्नुहुन्छ, नीतिगत र वैचारिक रुपमा किन बहस गर्नुहुँदैन् ?

नेपाली काँग्रेसको महाधिवेशनमा वैचारिक बहस पनि हुने गरेको हो । तर, हामी अहिलेपनि कोरोना महामारीमै रहेका छौं । संक्रमण न्यून भएपनि पुरै निर्मुल भइरहेको छैन् । फेरी अफ्रिकालगायतका देशमा नयाँ खालको भेरियन्ट पनि देखिएको छ । त्यसैले जनताको रक्षा गर्नुपनि हाम्रो पार्टी र सरकारको दायित्व हो । यस्तो अवस्थामा पनि तहगत रुपमा अधिवेशनहरु सम्पन्न भइरहेका छन् । त्यसकारणले गर्दा धेरै ठुलो भेला गर्ने काम भएको छैन्, जसले गर्दा हामीहरुले पर्याप्त मात्रामा बहसहरु गर्न पाइरहेका छैनौं । तथापी पार्टी सभापतिले महाधिवेशन गर्ने चाहना व्यक्त गरिरहनुभएको छ ।

तर, यो सरकार अदालतको विषयमा पनि बोल्न सकेन, अन्य विभिन्न काममा यो सरकार चुकेको छ भनेर जनताले भनिरहेका छन् । तपाईंले गृहमन्त्री हुँदा जनतालाई दिएको वाचा त पुरा गर्नसक्नुभएन नि ?

त्यसो होइन्, सुरक्षाको स्थिति हेर्दा पहिलाको भन्दा अहिले धेरै सुधारिएको छ । राष्ट्रको सुरक्षा र आम नागरिकको सुरक्षाको लागि यो सरकार गम्भिर रुपमा लागिरहेको छ । यस्तै, प्रधानमन्त्री भएको दिनदेखि नै शेरबहादुरज्यूले जनताको स्थास्थ्यलाई प्रमुख रुपमा हेर्दै आउनुभएको छ । कोभिडको भ्याक्सिनको कुरा गर्नुपर्दा सरकारले उल्लेखनीय रुपमा काम गरिरहेको छ । जनतालाई भ्याक्सिन लगाउने काम निरन्तर रूपमा अझै पनि चलिरहेको छ । साथै, अन्य विकासका परियोजनाका कामहरु अगाडि बढिरहेका छन् । कोरोना महामारिले विश्वको अर्थतन्त्रनै कमजोर अवस्थमा छ । सोही अनुरुपमा नेपालको अर्थतन्त्रपनि केही कमजोर देखिएको थियो । तर, पछिल्लो अवस्था हेर्दा विस्तारै सबै कुरामा देशले गति लिइरहेको छ । सन्तोषजनक रहेको छ ।

तर, अदातलको विवाद अझैपनि समाधान भएन नि ?

हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्थापित गरेको छ र शक्ति सन्तुलनको व्यवस्था गरेको छ । कार्यपालिकाले सरकार सञ्चालन गर्ने र नीतिहरु बनाउने हो, व्यवस्थापिकाले ती नीतिहरुलाई पास गर्ने र कानुन बनाउने काम हो । साथै, व्यवस्थापिकाले बनाएका कानुनको व्याख्या गर्ने काम न्यायपालिकाको हो । संविधानको व्याख्या गर्ने काम न्यायपालिकालाई प्रदान गरिएको छ । न्यायपालिकाले आम नागरिकलाई न्याय दिने हो । त्यसैले म तपाईंमार्फत सबै सम्मानीय न्यायाधिशहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु । तपाईँहरु बीचमा भएको मदभेदलाई सम्बोधन गर्नुहोस, निकाश दिनुहोस र न्यायपालिकालाई गतिशिल बनाउनुहोस । जनतालाई न्याय दिनसक्ने न्यायपालिकाको रुपमा स्थापित गर्नुहोस । नेपाली जनता त्यो हेर्न चाहन्छन् । तर, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्नु राम्रो मानिँदैन् । त्यसले मुलुकमा राम्रो नजिर बस्दैन् । त्यसकारणले हामीले बार, बेन्च र सबै न्यायाधीशहरुलाई यो समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गरेका छौं । यसमा कुनैपनि बाह्य शक्तिलाई आमन्त्रण नगर्नुहोस भनेर हामीले भनेका छौं, आग्रह गरिरहेका छौं । हामीलाई आशा छ–विद्धान न्यायाधीशहरु र विद्धान बारका अधिवक्ताज्यूहरुले यो समस्यालाई सम्बोधन गर्न सफलता प्राप्त गर्न सक्नुहुनेछ र नेपालको संविधानको रक्षाको लागि महत्वपूर्ण ऐतिहासिक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हामीलाई लागेको छ ।

तर, नेपाल बारले प्रधानन्यायाधीशले राजीनामा नदिएपछि महाभियोग ल्याउनुपर्छ भनेर तपाईंहरुलाई दबाव दिइरहेको छ नि, होइन् ?

अब बार र बेञ्च न्यायपालिकाको दुईवटा पाटा हुन् । दुवैको महत्वपूर्ण भूमिका रहेको छ । त्यसकारणले केही कुरामा मदभेद हुनुपनि स्वभाविक कुरा हो । तर, त्यसलाई समाधान गर्नुहुनेछ भन्ने हाम्रो आशा र आग्रह पनि हो ।

तपाईं गृहमन्त्री भएपछि धेरैले अपेक्षा गरेका थिए, नेपाल प्रहरीलाई तपाईंले सुधार्न सक्नुभयो ?

महङ्गीका कारणले नेपाल प्रहरी र सशत्र प्रहरीलाई हामीले १५ प्रतिशत रासन भक्ता वृद्धि गरेका छौं । त्यो उहाँहरुले प्राप्त गरिसक्नुभएको छ । हामीले दिएको राशन भत्ता त्यहाँ काम गर्ने तल्लो तहमा काम गर्ने सिपाहीहरुसम्म पुगेको छ अथवा छैन् भनेर हामीले त्यसमा पनि अनुगमन गरिरहेका छौं । अर्कातिर हिजोमात्रै मन्त्रीपरिषदले पास गरेको छ । परिचरमा भर्ना भएका नेपाली युवाहरु जो १५ वर्ष परिचर भएर उहाँहरु घर जानुहुन्थ्यो, उहाँहरुको पनि ग्रिडिङ वृद्धि गरिदिएर घर जाने बेलामा उहाँहरुको वृत्तिविकास हुनेछ र उहाँहरुले जुनियर अधिकृतको रुपमा तलब र पेन्सन प्राप्त गर्नुहुनेछ । त्यसरीनै नेपाल प्रहरीका सिपाहीहरुले आफ्नो कार्यसम्पादन गरिसकेपछि उहाँहरु एक तह माथिको प्रोमोसन लिएर घर जानुहुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्