Logo

सिरिजङ्घामा निःशुल्क माटो परीक्षण



ताप्लेजुङ, १४ मङ्सिर: माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ ।

यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी सुहाउँदोखेती प्रणाली अवलम्बन गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाइएको छ ।

गाउँपालिका क्षेत्रभित्रका सबै किसानले निःशुल्क माटो परीक्षण गर्न पाउने गरी नवौँ गाउँसभाद्वारा नीतिगत निर्णयसमेत गरेको थियो । माटो परीक्षणका लागि गाउँपालिकाअन्तर्गत रहेका सिनाम नमूना माध्यमिक विद्यालयस्थित प्रयोगशालामा जान सकिन्छ । उक्त प्रयोगशालामा निःशुल्क माटो परीक्षणको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रत्येक महिनाको पहिलो र चौंथो शनिबारका दिन किसानले माटो परीक्षण गर्न सक्नेछन् । गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धि गरी सर्वसाधरणलाई आत्मनिर्भर बनाउन र उनीहरुको आयआर्जनमासमेत वृद्धि गर्न निःशुल्क माटो परीक्षणको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।

प्रयोगशालामा माटोमा अम्लियपन, क्षारीयपन, इसी, सूक्ष्म खाद्यतत्व, मुख्य खाद्यतत्व, प्रोटेबललगायतको डिजिटल नतिजा देखाउने र प्रिन्ट गरेर किसानलाई दिन पनि मिल्ने उनले बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्