Logo

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने



काठमाडौँ, १४ मङ्सिर। मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ। आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल १० औं राष्ट्रिय महाधिवेशनका कारण सहभागी हुन नसकेपछि स्थगित गरिएको हो।

मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठक बुधबार दिउँसो १ बजेका लागि स्थगित गरिएको हो। भोलिको बैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएकोले भोलिमात्र विश्वासको मत लिइने जनाइएको छ।

भोलि मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने छ। कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको भोलि ३० दिन पुग्दै छ। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्छ।-File Photo



प्रतिक्रिया दिनुहोस्