Logo

राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा



काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् ।

थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।नेतृत्वका लागि नेता लिङ्देनलेसमेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रयमध्येका थापाबाहेकका दुई पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् ।

महाधिवेशनमा देश तथा विदेशबाट गरी नेतृत्व चुन्ने प्रक्रियामा ४५ सय प्रतिनिधि सहभागी हुनेछन् । राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन्

काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने महाधिवेशनको तयारीका लागि महाधिवेशन स्थललाई सजाइएको छ। महाधिवेशन १७ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्