Logo

आयातमा इन्धन र सवारीसाधनको वर्चस्व



वीरगञ्ज, मंसिर १५। आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ ।

यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेयa पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् ।

तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ ।

भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको आयातबाट सबैभन्दा बढी राजस्व उठाएको भन्सारको तथ्यांक छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट मात्रै करीब दुई तिहाइ राजस्व उठेको छ ।

बितेको ४ महीनामा पेट्रोलियम पदार्थबाट ३३ दशमलव २३ र गाडी आयातबाट २८ दशमलव ८७ प्रतिशत गरी कुल ६२ प्रतिशत राजस्वको योगदान देखिएको भन्सार प्रमुख हरिहर पौडेलले बताए । भन्सारले पहिलो चौमासिकमा ७० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको थियो ।

वीरगञ्ज पेट्रोलियम पदार्थ र गाडी आयात हुने मुख्य नाका हो । यो वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा वीरगञ्ज नाकाबाट इन्धन आयात उल्लेख्य बढेको छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेटोलियम पाइपलाइन निर्माण भएकाले इन्धन ढुवानी सहज बनेको छ ।

अघिल्लो आव २०७७र७८ मा शुरूको ४ महीनाको अधिकांश समय बन्दाबन्दी र निषेधाज्ञामा बितेकाले पनि चालू वर्षमा यस्ता वस्तुको आयात उल्लेख्य बढेको देखिएको हो । अघिल्लो वर्ष उत्पादन र बजार बन्द भएकाले पनि आयातनिर्यात प्रभावित भएको थियो ।

चालू आवको पहिलो चौमासमा गतवर्षको समीक्षा अवधिको तुलनामा डिजेल आयात ४१, पेट्रोल ३६, एलपी ग्यास १४ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको सूचनाप्रविधि शाखाले बताएको छ ।

त्यस्तै हवाई इन्धनको आयात १६२ प्रतिशत बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्ष आन्तरिक बाह्य हवाई सेवा अवरुद्ध भएकाले यस्तो इन्धनको आयात निकै कम भएको थियो । कोइला आयात ३४ र मोबिल २९ प्रतिशतले वृद्धि भएको छ ।

सवारीका साधनको आयात पनि यो वर्ष उल्लेख्य परिमाणले बढेको देखिन्छ । सबैभन्दा बढी जीप, कार र भ्यानको आयात वृद्धि भएको छ । अघिल्लो वषको ४ महीनामा वीरगञ्ज भन्सार हुँदै १ हजार ९६३ ओटा यस्ता साधन भित्रिएका थिए ।

यो वर्ष यस्तो संख्या ३ हजार ४०६ पुगेको भन्सारले बताएको छ । जीप, कार र भ्यानको आयात वृद्धि प्रतिशत ७४ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्