Logo

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द



काठमाडौं, मंसिर १५ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल बारले आन्दोलनको कार्यक्रम घटाउँदै लगेको हो ।

साथै बारले सर्वोच्चमा मात्रै नभई जिल्ला र उच्च अदालतमा पनि गोला प्रथाद्वारा पेसी तोक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालत फुलकोर्टसँग माग गर्ने निर्णय गरेको छ । बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणालीमार्फत पेसी सूची प्रकाशित हुने जानकारी आएकाले बारले राजीनामा मागिसकेको प्रधानन्यायाधीश जबराले गोलामा सहभागी नहुन तथा उनी सम्मिलित संयुक्त÷पूर्ण÷संवैधानिक इजलासमा नबस्नसमेत आग्रह गरेको छ ।

सर्वोच्च अदालत आफैंले गत १७ साउनमा १ मंसिरदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रणालीमार्फत पेसी तोकिने भनी पत्राचार गरेको बारले फेरि स्मरण गराएको छ । ७ कात्तिकदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशहरू गोला प्रथाबाट पेसी तोक्ने भन्दै फुलकोर्ट बैठक बसेपछि इजलास फर्किएका थिए ।

सर्वोच्चका न्यायाधीशहरू बुधबारदेखि गोला प्रथाबाट पेसी सूची तोकेपछि नियमित प्रक्रियाका सबै मुद्दा सुनुवाइ गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानन्यायाधीश राणा कोरोना संक्रमणका कारण बुधबारबाट सुरु हुने गोला प्रथाबाट तोकिने पेसीमा उपस्थित हुने छैनन् ।

तर, अदालतमा उपस्थित सबै न्यायाधीश गोला तानेर बुधबारबाटै सबै नियमित प्रक्रियाको मुद्दा सुनुवाइ गर्नेछन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै एक महिनाभन्दा लामो समयदेखि इजलासका सुनुवाइ ठप्प बनाउँदा ३ हजार बढी मुद्दाको सुनुवाइ प्रभावित बन्न पुगेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्