Logo

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना



बागलुङ, १५ मंसिर । बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उहाँका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए ।

मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चौरासी पूजा हुँदा सङ्कलित दक्षिणामा परिवारकातर्फबाट रकम थपेर अक्षयकोष राखिएको हो । “आमाको सम्मानमा अक्षयकोष स्थापना गरिएको हो, यसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्य छ,” छोरा रामप्रसादले भने । उनले आउँदा दिनमा अक्षयकोषको रकम बढाउँदै लाने योजना रहेको सुनाउए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले शिक्षा मन्त्रालयले तोकेको कार्यविधिअनुसार नै अक्षयकोष सञ्चालन गरिने बताए । उनले उक्त विद्यालयमा न्यून आय भएका परिवारका बालबालिका अध्ययनरत रहेकाले उनीहरुको शैक्षिक विकासमा अक्षयकोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयको सल्लाहकार समितिका संयोजक एवं समाजसेवी केवी रानामगरले शर्मा परिवारले आमाको सम्मानमा विद्यालयमा अक्षयकोष राखेर पुनित काम गरेको उल्लेख गरे । उनले सो विद्यालयमा मजदुर, विपन्न र अल्पसङ्ख्यक समुदायका बालबालिका पढ्ने भएकाले सबै पक्षको सहयोगको खाँचो रहेको बताए ।

विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा स्थानीय समुदाय नै बढी सक्रिय हुुनुपर्ने रानामगरको भनाइ छ । विसं २०५५ मा स्थापना भएको सो विद्यालयमा शारीरिक अपाङ्गता भएका बालबालिका पनि अध्ययनरत छ । विद्यालयको भौतिक संरचना अपाङ्गतामैत्री छ । रासस



प्रतिक्रिया दिनुहोस्