Logo

सभापतिको साझा उम्मेद्धवार बनाउन चाक्सीबारीमा चार नेता छलफलमा जुटे



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि आफ्नो तर्फबाट साझा उम्मेद्धवार चयन गर्नको लागि संस्थापनईतर रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । अहिले पौडेल समूहको ‘कोर–टीम’ नेता प्रकाशमान सिंहको ठमेलस्थित् चाक्सीबारीमा छलफलमा जुटेको हो । उक्त छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापा सहभागी छन् ।

महाधिवेशन सुरु हुने दिन नजिकिँदै जाँदा पौडेल समूहमा सभापतिको लागि साझा उम्मेद्धवार तय गर्न सकस परेको छ । आज भने यी चार नेता कोइराला परिवारका सदस्यविनै छलफलमा जुटेका छन् । पछिल्लो समय सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका प्रकाशमानले आफ्नो तयारीलाई तिव्रता दिएका छन् ।

सिंहलाई युवा नेता गगनले दरिलो साथ दिएका छन् । महाधिवेशन केन्द्रित विभिन्न तहका निर्वाचनमा काठमाडौंलगायत विभिन्न जिल्लामा ‘सिंह–थापा’ टिमले ठूलो सफलता हात पारिसकेको छ । भोलिबाट सुरु हुने प्रदेशस्तरीय अधिवेशनको लागि पनि साझा उम्मेद्धवार तय गर्नेबार यी चार नेताबीच छलफल हुने भएको छ ।

बाग्मती प्रदेशको प्रमुखमा पौडेल समूहले जगदिशनरसिंह केसीलाई अघि सार्ने तयारी छ । उता, सभापति शेरबहादुर देउवाले भने बाग्मती प्रदेशमा ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । बानियाँले अहिले केहीबेरमै रिपोर्टर्स क्लब नेपालमार्फत आफ्नो उम्मेद्धवारी घोषणा गर्दैछन् । file photo



प्रतिक्रिया दिनुहोस्