Logo

कोइराला परिवारको किल्ला ढाल्ने देउवा-सिटौला रणनीति विफल



विराटनगर, १५ मंसिर । कोइराला परिवारका लागि प्रतिष्ठाको लडाईं बनेको मोरङ काँग्रेस सभापतिमा डिकबहादुर लिम्बूले बाजी मारेका छन् । लिम्बूले देउवा सिटौला समूहको साथ पाएका दिलिप गच्छदारलाई ४८२ मतले पराजित गरे ।

पहिलो चरणमा कोइराला समूहका लिम्बूले ५० प्रतिशत मत कटाउन सकेनन् । मैदानमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका अलग उम्मेदवार हुँदा दोस्रोमा गच्छेदार बनेका थिए । सिटौला समूहका उम्मेदवार यदुकुमार बिष्ट पहिलो चरणमा तेस्रो भएपछि पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा चलेको थियो ।
सिटौला समूहले देउवा समूहका गच्छेदारलाई सघायो । विराटनगरका मेयर भीम पराजुली समेत सोही गुटका गच्छेदारको पक्षमा उभिए ।

गृह जिल्ला मोरङमा आफूहरुविरुद्ध देउवा र सिटौला एकजुट भएको चाल पाएपछि कोइराला परिवार मोरङको सवालमा एकजुट भएका थिए । केन्द्रीय सदस्य शेखर कोइराला जिल्लामै पुगे । महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य सुजाता कोइराला काठमाडौंबाट सक्रिय भए । सुजाताले आफ्ना विश्वासपात्रहरुलाई मोरङमा परिचालन गरिन् । कोइरालात्रय एक भएपछि पासा पल्टियो ।

डिकबहादुर लिम्बूले १९ सय ७ मत ल्याउँदा दिलिप गच्छेदारले १४ सय २५ मत ल्याए । गच्छेदार र बिष्टले पहिलो चरणमा ल्याएको मत जोडिएको भए लिम्बू पराजित हुने अवस्था हुन्थ्यो । तर, कोइराला परिवारका लागि प्रतिष्ठाको विषय बनेपछि मोरङको नतिजा उनीहरुको पक्षमा आयो ।

काठमाडौं पछि बढी निर्वाचन क्षेत्र भएकाले त्यहाँबाट बढी प्रतिनिधि चयन भएर आउँछन् । ६ वटा निर्वाचन क्षेत्र भएको मोरङबाट १५० प्रतिनिधि चयन हुन्छन् । त्यसबाहेक काँग्रेसको केन्द्रीय कमिटीमा रहेकाहरु स्वतः प्रतिनिधि हुने भएकाले संख्या बढी नै छ ।



प्रतिक्रिया दिनुहोस्