Logo

देउवाको अस्त्र सिटौला



काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसको जिल्ला अधिवेशनसम्मको देशभरको अवस्थाले विभिन्न गुट वा उपगुट एक अर्कासँग मिलेर हराउने र जिताउनेमा लागेको देखियो । विशेषगरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह अहिलेसम्म बढी सक्रिय देखियो ।

देउवा र सिटौला समूहबीच देशभर एकता देखियो । दुई भिन्न समूह भनिएपनि यी समूह एउटै जसरी देशभर प्रस्तुत भए ।

काठमाडौं जिल्लाको वडा देखि जिल्ला तहको अधिवेशनमा देउवा र सिटौला समूह मिलेर चुनाव लडे । उनीहरुले संस्थापन इतर समूहका प्रकाशमान सिंहको पकड अन्त गर्न भरमग्दुर प्रयास गरे । ललितपुरमा पनि देउवा समूहका एउटा गुट र सिटौला समूह एकजुट भएर चुनाव लडेका थिए । तर, देउवा समूहको अर्को उपगुटको साथले सिंह निकट उम्मेदवारले बाजी मारे ।

मोरङमा कोइराला परिवारको किल्ला ढाल्न देउवा र सिटौला समूह अन्तमा मिले । तर, कोइराला परिवारको किल्ला जोगियो । त्यहाँ कोइरालानिकट डिकबहादुर लिम्बूले बाजी मारे ।

झापामा मात्र सिटौला समूहका उम्मेदवार र देउवा समूहका विश्वप्रकाश शर्माबीच चुनावी प्रतिष्पर्धा भयो । त्यहाँ सिटौला समूहले बाजी मार्यो ।

सिटौलाले सबैभन्दा बढी प्रभाव झापा, काठमाडौं, ललितपुर, मोरङ, सुनसरी र तनहुँमा देखाउन खोजे । झापा सिटौलाको गृह जिल्ला हो । बाँकी जिल्लाहरु पौडेल समूहका हस्तीहरुको प्रभाव क्षेत्र हो । मोरङमा शेखर कोइराला, सुनसरीमा सुजाता कोइराला, काठमाडौं र ललितपुरमा प्रकाशमान सिंहको पकड छ । त्यहाँ नै सिटौलाको प्रभाव हुनुलाई अर्थपूर्ण मानिएको छ । ती क्षेत्रहरुमा देउवा समूहले सिटौला समूहलाई ऊर्जा दिएको देखियो ।

तनहुँको जिल्ला सभापतिको चुनावमा पौडेल समूहका उम्मेदवार पराजित भए । सभापतिका आकांक्षी पौडेललाई गृहजिल्लामै धक्का लाग्यो । त्यहाँ देउवा र सिटौला समूह एकजुट भएका थिए ।

काँग्रैसको अधिवेशनहरुको प्रवाह केलाउँदा देउवा समूहले सिटौला समूहलाई अर्को बलियो पक्षलाई कमजोर पार्ने अस्त्रको रुपमा प्रयोग गरेको देखियो ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौला पहिलो चरणमा तेस्रो भएपछि देउवालाई अघोषित रुपमा साथ दिन पुगेका थिए । उनले त्यसपछि पनि तेस्रो गुट चलाउँदै आएका छन् । सिटौला समूहले देउवाबाट निश्चित प्रतिशत टिकटहरु चुनावमा लिइआएको छ ।

१४औं महाधिवेशनमा आइपुग्दा सिटौला समूह कमजोर हुँदै गएको छ । सिटौलालाई प्रभावशाली नेताहरुमध्ये प्रदीप पौडेल, उमाशंकर चौधरी र भीमसेनदास प्रधानको मात्र साथ छ । गगन थापाले साथ छाडेका छन् । चुनावी घटनाक्रमलाई हेर्दा सिटौला समूह यसपटक देउवासँग विलय हुनसक्ने परिस्थिति विकास हुँदै गएको छ । त्यतिबेला उक्त समूहका केही नेताहरुले साथ छाड्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्