Logo

 एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल



काठमाडौं, १५ मंसिर । एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बनेको छ।  बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो। ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड बैंकले पाएको छ। लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो।

एक शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको बैंकले १३ वर्षको यात्रामा ४ पटक ‘बैंक अफ द इयर’ हुँदै यसपटक नेपालको पहिलो एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको हो। यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मुलुकका लागि गौरवको विषय भएको बैंकका सिइओ सुनिल केसीले बताए।

चीन, भारत, हङकङ, दक्षिण एसिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भयो। ‘एशियाका ४८ मुलुकलाई पछाडि पार्दै एनएमबि बैंक सर्वोत्कृष्ट बन्नु सबैको जित हो। बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैकको जित हो,’ सिइओ, केसीले भने, ‘आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट बन्न सफल भएको हो।’

बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले यो सम्भव भएको उनी बताउँछन्।  हामीले चमत्कार चाहेनौँ दीगो बैंकलाई मध्येनजर गर्दै काम गरिरहेका छौँ,उनले भने, विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रुपमा एनएमबि नै रहेको छ।

बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ। त्यस्तै सिमेन्टमा लगानी गरि मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बैंकले बनाउन सहयोग गरेको छ।  सिंगापुरले नपाएको अवार्ड एनएमबिले पाएको बताउँदै उनले एनएमबिले वर्ल्डको टप बैंकसँग प्रतिस्पर्धा गरेको र दिगो बैंकिङको एजेन्डा लिएकै कारणले नेपालका अन्य बैंक भन्दा पृथक र अघि भएको समेत बताए। त्यस्तै देशमा नयाँ उद्यमीहरु जन्माउनेदेखि विदेशबाट ठूलो रकम नेपाल भित्र्याउनका लागि एनएमबि बैंकले ठूलो पहल गरेको बैंकका अध्यक्ष पवन गोल्यानले बताए।

अवार्ड घोषणा कार्यक्रममा बोल्दै उनले भने,‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले सिइओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनु पर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो, तर हामी यो अवार्ड पाउन सफल भयौं। यो गौरवको विषय हो।’

सन् २००० मा स्थापित बैंक अफ दि इयर अवार्ड प्रत्येक वर्ष विभिन्न देशका उत्कृष्ट बैंकिङ सेवा दिने बैंकहरुले पाउँदै आएका छन्।  बैंकको वृद्धि र कार्य सम्पादनको शैली, बैंकको रणनीतिक पहलहरु, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नविनतम् सेवा र उत्पादनहरु दीगो विकासका लागि गरिएका गतिविधि र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डहरुको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख व्यवसाय रणनीतिक अधिकृत सुदेश उपाध्यायले परम्परागत बैंकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दीगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै आएकोले पनि अवार्ड पाउन सफल भएको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot