Logo

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले आर्थिक पुनरुत्थान नै सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उनले यसलाई तीव्रतालाई दिन स्वदेशी तथा विदेशी लगानीलाई सहजीकरण गरिने बताएका हुन् ।

बुधवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा अवार्ड वितरण कार्यक्रमको अवसरमा उनले नेपालमा ढुक्क भएर लगानी भित्र्याउन र गर्न विदेशी लगानीकर्तालाई पनि आह्वान गरेका छन् ।

‘नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भने, ‘तपाईंको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ ।’ २०४८ सालपछि नेपालले खुला बजार अर्थनीतिलाई आत्मसात् गरेको र त्यसपछि निजीक्षेत्र तथा विदेशी लगानी आउन शुरू भएकाले त्यसलाई थप बढवा दिँदै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिने उनको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सारमा आधारित राजस्व, विप्रेषणमा आधारित अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताए । विकासमैत्री नीतिगत ऐन तथा कानूनहरू बनाउनेतर्फ ध्यान दिइएको भन्दै उनले नेपालको खर्च गर्ने मोडालिटीमा पनि नयाँपन ल्याउन आवश्यक रहेको बताए । खरीद ऐन तथा नियमावलीलाई संशोधन गर्न लागिएको र निर्माण व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउन लागिएको उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सार्वजनिक खरीद र सार्वजनिक योजना छनोट पारदर्शी नभएको बताए ।

आर्थिक पुनरुत्थान तथा दोस्रो चरणको आर्थिक सुधारका लागि बजेटको बीचमा हुने ३७ प्रतिशत रकमान्तरलाई व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारको आकार घटाउने र खर्च तथा सार्वजनिक योजना छनोटलाई आवश्यकताका आधारमा मात्रै अघि बढाउन आवश्यक भएको उनले बताए ।

कार्यक्रममा कांग्रेसका सांसद् तथा उद्योगपति विनोद चौधरीले नियामक निकायलाई चुस्त बनाउँदै अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । सरकार बदलिने चरित्रमा फेरबदल आएको भन्दै उनले अब सबैको प्राथमिकतामा आर्थिक पुनरुत्थान हुन आवश्यक भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग, व्यवसायसँग सम्बद्ध विभिन्न १४ ओटा ऐन सुधार गर्न खाँचो रहेको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्