Logo

ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाइयो



एजेन्सी, १६ मङ्सिर। चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हालै दिएको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ । ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने’ भन्ने सिन्जोको अभिव्यक्तिपछि रुष्ट बनेको चीनले जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार बुधबार साँझ जापानका राजदूत हिदेओ तारोमीलाई विदेशमन्त्रालयमा डाकिएको थियो । विदेश मन्त्रालयका अनुसार बुधबार साँझ राजदूत हिदेओलाई ‘आपत्कालीन बैठक’ का लागि बोलाइएको थियो ।विदेश मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘चीनकी सहायक विदेशमन्त्री हुआ चुनयिङले जापानका राजदूत हिदेओसँग भेटवार्ता गरेका छन्। भेटमा मन्त्री चुनयिङले सिन्जो आबेको बयानलाई गलत र चीन-जापान सम्बन्धमा स्थापित मापदण्डको उल्लंघन भएको पनि बताउनुभयो ।’

चिनियाँ विदेश मन्त्रालयले ‘आबेको अभिव्यक्तिले चीनको सम्प्रभुतामाथि खुला रूपमा चुनौती दिएको र ताइवानको स्वतन्त्रताको बारेका कुरा उठाउनेलाई निर्लज्ज समर्थन गरेको’ बताएको छ । बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका थिए ।

सम्बोधनका क्रममा आबेले भनेका थिए, ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्